काठमाडौं। प्रदेश सरकारले ‘मुन्दुम पदमार्ग’ परियोजना स्वीकृत नगर्दा मुन्दुम पदमार्ग निर्माण अलपत्र परेको छ। स्थानीय, प्रदेश र स्वीस सरकारको लगानीमा निर्माणाधीन मुन्दुम पदमार्गको काम अलपत्र परेको हो।
खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु जिल्लालाई आधार बनाएर तय गरिएको मुन्दुम पदमार्गअन्तर्गत खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको षडानन्द नगरपालिका, टेम्कै मैयु गाउँपालिका र सालला सिलिचुङ गाउँपालिकामा काम अपूरै रहेको छ ।
केपिलासगढी गाउँपालिकामा पर्ने १४ किलोमिटरमध्ये ६ किलोमिटर मात्र सकिएको छ। करिब दुई करोड रुपैयाँको लगानीमा सकिनु पर्ने उक्त खण्डमा करिब एक करोड ४० लाख खर्च भएको केपिलासगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए ।
भोजपुरको षडानन्द नगरपालिकामा पर्ने ८ किलोमिटरमध्ये ७ किलोमिटर मात्र पदमार्गको काम सकिएको छ। भोजपुरकै सालपा सिलिचुङ गाउँपालिकामा पनि पदमार्ग अपूरै छ। उक्त गाउँपालिकामा पर्ने १२ किलोमिटरमध्ये ८ किलोमिटर मात्र पदमार्गको काम सकिएको छ। खोटाङको साकेला गाउँपालिकामा पर्ने साढे १० किलोमिटर पदमार्गको काम सकिएको छ। भोजपुरको भोजपुर नगरपालिकामा साढे १२ किलोमिटर पदमार्ग बनेको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खडकाले बताए ।
मुन्दुम ट्रेल निर्माणमा नौ सय ८६ जनाले काम गरेका छन् । साकेला गाउँपालिकाका अनुसार पर्खालका लागि थोरै तारजाली बाहेक अरु सबै स्थानीय सामग्री प्रयोग गरिएको छ । यो पदमार्ग निर्माणपछि मुन्दुम पदमार्गको विकासले खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु जिल्लाका समुदायको जीवनस्तर उठ्ने प्रदेशसभा सदस्य रामकुमार राईले बताए ।
मुन्दुम् पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, च्रोयु लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ। यसबाहेक ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ। उक्त पदमार्गमा ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाहरूको शीर छिचोल्दै विभिन्न प्रजातिका गुराँस, विभिन्न जडीबुटीहरू तथा घना जङ्गल अवलोकन गर्न पाइने छ ।