दोलखा। दोलखाको लामोसाँघु-जिरी सडकको मुडे चरिकोट खण्ड विस्तार सुरु भएको ६ वर्ष बित्दासमेत अलपत्र अवस्थामा रहेको छ। २ वर्षमा काम सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा लिएको थियो । तर, समयमै काम सम्पन्न नगर्दा जिल्लावासीले सास्ती बेहोर्नु परेको छ।
सडकको काम नसकिँदा घाम लाग्दो धुले र पानी पर्दा हिलाम्मे सडकका कारण हैरानी खेप्नुपरेको स्थानीयले गुनासो पोखेका छन्। सडक दुरवस्थाकै कारण बिरामीलाई महँगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गरी उपचारका लागि लैजानुपर्ने बाँध्यता रहेको छ । त्यस्तै वर्षायाममा सावारीसाधन हिलोमा फसेर यात्रुलाई घण्टौसम्म जाममा बस्नु पर्ने बाँध्यता रहेको छ।
त्यस्तै आर्थिक अवस्था कमजोर भएकाहरूले सडककै कारण समयमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाँध्यता रहेको छ। पानी परेपछि साना सवारी साधन बीपी राजमार्ग भएर ७६ किलोमिटर बढी घुमेर जिल्ला भित्रने गरेका छन् । सडकको अवस्था दयनीय भएकै कारण राजधानीदेखि चरिकोटसम्मको ४ घण्टाको यात्रा गर्न ८ घण्टासम्म लाग्ने गरेको छ। त्यस्तै सडकको दुरवस्थाका कारण व्यवसायीले नयाँ बस नहालेको पनि ४ वर्ष बितेको र सडक नबनेसम्म नयाँ बस नहाल्ने कुरा यातायात व्यवसायीले बताएका छन्। सोही सडकका कारण जिल्लाको पर्यटन क्षेत्र पनि प्रभावित बनेको छ ।
भारतीय निर्माण कम्पनी सकिल हैदर-शंकरमाली-सुनौलो खिम्ती जेभीले ७९ करोड रुपैयाँमा सो सडक विस्तारको जिम्मा लिएको थियो। ठेक्कामा सकिल हैदरको ५१ प्रतिशत स्वामित्व रहेको छ। ३० किलोमिटर सडकको काम २०७२ देखि सुरु भएको थियो। तर चेक बाउन्सको मुद्दामा परेका शंकरमालीका सञ्चालक दीपक सापकोटा सम्पर्कविहीन रहेका छन्। सोही निर्माण सेवाका अन्य सञ्चालकलाई झिकाएर लामासाँघु जिरी सडक सुधार आयोजनाले ६ महिना यता काम गराउन थालेको थियो । अहिले केही ठाउँमा ग्राभेल भए पनि वर्षाले जस्ताको त्यस्तै बनाएको छ । ५ किलोमिटर कालोपत्र भए पनि कमसल काम गरेर निर्माण कम्पनी बेपत्ता भएको छ।
निर्माण कम्पनीले निर्माण अवधि बितेको ४ वर्षमा शक्ति केन्द्र धाएर ३ पटक म्याद थपेका छन् । हाल आयोजनामा आएका प्रमुखले चाडपर्वमा यात्रुलाई केही सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गर्न लगाएको वताएका छन्। भारतीय सहयोगमा बनिरहेको सडक भएकाले ठेक्का तोड्दा आर्थिक भार नेपाल सरकारलाई नै पर्ने भएकाले स्रोतको सुनिश्चितता गरेर मात्रै ठेक्का तोड्नुपर्ने हुन्छ । आयोजना प्रमुखले २० किलोमिटर सडकको आर्थिक स्रोत व्यवस्थापन भइसकेको दाबी गरेका छन् । पहिलो खण्डको २५ किलोमिटर खाडीचौरदेखि मुडेसम्म लगातारको दबाबपछि एक वर्षअघि पूरा भएको थियो।
४ दशक भन्दा पहिले स्विस सरकारको सहयोगमा ११० किमि लामोसाँघु-जिरी सडक बनेको थियो। तर सवारी चाप बढ्दै गएपछि भारतीय एक्जिम बैंकको सहयोगमा ७ वर्षअघि सडक सुधार गरी दुई लेनको गर्ने गरी काम सुरु भएको हो।