पाल्पा । दसैँँ आउनु महिना दिन गावै घर लिपपोत गर्न रातो रसेतो माटोको बन्दोबस्तो गरेर घरघरमा राखिन्थ्यो । गाउँमा घर सिंगारेर चिटिक्क बनाउने छिमेकीबीच होडबाजी नै चल्थ्यो । खोलाका किनार, वनजङ्गलमा माटो खोजेर घर सजाउँदा गाउँ नै सुन्दर देखिन्थ्यो । तर हिजोआज भने खोला, वजनजङ्गलमा धाएर माटो खोजेर घर लिपपोत गर्ने चलन हराउँदै गयो ।
घर लिपपोत गर्न प्रयोग गरिने सेतो, रातो, कालो माटोको तुलनामा बजारमा आएका विभिन्न रङ्गरोगनलगायतका वस्तुको प्रयोग बढ्न थालेको छ । बजारमा तयारी अवस्थामा पाइने विभिन्न वस्तुप्रति स्थानीयवासीको आकर्षण बढ्न थालेपछि ग्रामीण वस्तुको उपयोग कम हुन थालेको छ ।
पछिल्ला वर्षमा गाउँघरमा पाइने वस्तुलाई उपभोग गर्न छाडेर महँगा मूल्यका वस्तु खरिद गरी घर सिंगारपटार गरेर घर सजाउने क्रम बढ्दो छ । हिजोका दिनमा माटोले पोतिएका घरका भित्तामा कमेरो र रातो माटोको ठाउँमा रङरोगन, चुना लगाउन थालेको राधिका पाण्डेयले बताएन । उनका अनुसार गाउँमा कमेरो माटो खोजेर घर लिपपोत गर्नै छाडियो ।
“वन तथा व्यक्तिको जग्गा जोडिएको ठाउँमा माटो निकाल्न पाइँदैनथ्यो । बिहान ३ वजे नै उठेर लाइट बालेर खोलाका किनारबाट माटो खोजेर ल्याइन्थ्यो, कहिलेकाँही रातिमा लुकेर ल्याइएको माटो वनका व्यक्ति तथा जग्गाधनीले खोसेर धेरै पटक रित्तै फर्किएर घर फर्कन्थ्यौँ”, उनले विगतलाई सम्झँदै भने ।
घरका भित्ता सेतो, रातो र कालो माटोको सुन्दर सजावट हेर्दै सबैलाई आकर्षित बनाउँछ । रङरोगन सजावटको महत्व कमै मात्रामा लिइन्छ । यसरी कृत्रिम वस्तुको प्रयोग दिनप्रति दिन बढ्दै जादा हाम्रा पुराना मौलिक संस्कार, संस्कृति हराउन पुगेका छन् । यसले चाडपर्व खर्चिलो र भड्किलो पनि बन्दै गएको छ ।