सुर्खेत । माछा मारेर , दैनिक अर्काको मजदुरी गरेर जीवन निवाह गर्ने रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै रौनक छैन । दशैँमा नयाँ लुगा लगाउने, मीठो खाने भनिए पनि बादी बस्तीका बालबालिका नयाँ नाना र मीठा खानाबाट वञ्चित छन् ।
चौरजहारी नगरपालिका–१ को बादी समुदायका ६४ वर्षीय पशुपति बादीले भने, “कसैले पत्याएर ऋण दिए त एक छाक मासुभात खाने हो । हाम्रा दिन यस्तै हुन्, दशैँले झन् ऋण थप्छ, दशा बन्छ हामीलाई ।” घरमा साँझ बिहानको छाक टार्न धौ–धौ परिरहेको बेला खर्चिलो र भड्किलो बन्दै गएका चाडपर्वले गरिब परिवारलाई थप पीडा हुने गरेको छ । पशुपति बादीले भने, “घरमा चामलको गेडो छैन । यसै त गरिबका दिन, चाडबाडले गर्दा ऋणमाथि ऋण ।”
२२ घरपरिवार रहेका यस बस्तीको जनसङ्ख्या ९६ रहेको छ । न कसैको जागिर, न उच्चशिक्षा । न गतिलो घरबास, न त जग्गा जमिन । माछा मार्ने, मादल र सुल्पा बनाउने पेसा अङ्गालेका बादीको पेसा लोप हुँदै गएपछि झन् परिवार पाल्न सङ्कट आइलागेको छ ।
६६ वर्षीया बिसे बादीका अनुसार पहिला पहिला चाडबाडमा मादल बनाउने, मेलापर्वमा सुल्पा बनाएर बेच्ने र प्रायः खोला र नदीमा माछा मारेर खर्च धान्ने गरिन्थ्यो तर अहिले मादल, सुल्पा बिक्री हुन छोडेकाले पेसा नै सङ्कटमा परेको उनको बुझाइ छ । खलोमुठी गरेर पेट पाल्ने गरेका बादी परिवारमा रोजगारीको समस्या बल्झँदै गएको छ । साहुले दिएको अन्नमुठीले सधैँभरि नपुग्ने भएकाले बादी परिवारमा सरकारले रोजगारीको व्यवस्था गरिदिए ठूलो कल्याण हुने बिसे बादीले बताए ।
आफू, श्रीमती र छोराछोरीसहित १२ परिवारका १२ जना सदस्यको घरमूली रहेका भीमबहादुर बादीले चाडबाड आउँदा झन् समस्या हुने गरेको बताए ।उनले भने, “छोराछोरीले नयाँ नाना र चिची भन्दै दशैँ पर्खेका छन्, कहाँबाट ल्याएर मन बुझाउनु । चाडबाड आउँदा गरिबीको पीडा नराम्ररी सहनुपर्छ ।” पछिल्लो पटक बादी समुदायका पुरुष बजारमा मालवाहक गाडीका सामान लोड अनलोड गर्ने गर्दछन् । दिनभर सामान बोेकेर आएको मजदुरीले दाल, चामल, नुन, तेलको जोहो गरेर छाक टार्ने गरेका छन् । दशैँको बेला बजारमा त्यो काम पनि कम भएपछि उनीहरूलाई दैनिक छाक टार्न मुस्किल हुने गरेको छ ।
बादी परिवारको मुख्य समस्या भनेकै खाना र लगाउने नै हो । चाडपर्वकै लागि भनेर परिवारमा नयाँ लुगा किनेको याद नभएको भीमबहादुरले बताए। बढ्दै गएको परिवार सङ्ख्या, बेरोजगारी र महँगीले थप मारमा पारेको उनले उल्लेख गरे। सरकारले जनता आवास कार्यक्रमअन्तर्गत जमिन भएका केही परिवारको घर बनाइदिएको छ । बासको अभावमा सदियौँदेखि फुसको छानोमुनि बस्दै आएका उनीहरूलाई घर हुँदा ठूलो राहत मिलेको छ तर कतिपयको नाममा जग्गा नहुँदा अवस्था उस्तै छ । जनता आवास कार्यक्रमअन्तर्गत बनेका घरहरूमा शौचालय छैन । शौचालय बनाउने जमिन नहुँदा अझै पनि खुला ठाउँमा दिसा–पिसाब गर्न बाध्य छन्, बादी समुदाय ।