म्याग्दी। धवलागिरि गाउँपालिका ७ ताकममा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु भएको छ। सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार ताकममा भवन निर्माण हुन लागेको हो।
पाँच शय्या क्षमताको अस्पतालका लागि दुईतले भवन निर्माण सुरु गरिएको धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले बताए। आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो, उक्त भवन आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
उक्त भवन निर्माणका लागि बिएम आइएस एसी जेभी बुर्तिबाङ बागलुङले चार करोड भन्दा माथीको लागतमा ठेक्का सम्झौता गरेको छ। गत चैत महिनामा सम्झौता गरेको ठेकेदारले कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसी को काम सम्पन्न गरेको छ।
निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन्। विसं २०७७ पुसमा भएको धवलागिरिको विशेष गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो।
निर्णयअनुसार गत वर्षदेखि नै ताकम स्वास्थ्यचौकीमा स्थापना भएको कोरोना अस्थायी अस्पताललाई निरन्तरता दिइएको छ। एक चिकित्सक, दुई नर्सका साथै ताकम स्वास्थ्यचौकीका मौजुदा जनशक्तिले सेवा दिइरहेका छन्।
ताकममा अस्पताल सञ्चालन भएपछि भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरिका बासिन्दालाई स्वास्थ्यउपचारमा सहज भएको छ। चिकित्सकको सेवाका लागि दरबाङ, बेनी, बागलुङ, पोखरालगायत बजारमा पुग्नुपर्ने समस्या कम भएको छ। धवलागिरिको ताकमका साथै मङ्गला र अन्नपूर्ण गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन्।