काठमाडौं। सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण गरिएको छ। पर्यटन प्रवदद्र्धनका लागि पदमार्ग निर्माण गरिएको हो।
विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन्। पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ। नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ।
पर्यटन विभागले स्थानीय तहको समन्वयमा रु दुई करोड लागतमा हेलम्बु, सिमीसिदाङ हुँदै लाङ्टाङ पुगिने ३० किलोमिटर पदमार्ग र गाञ्जालापास हुँदै रसुवाको लाङ्टाङ पुगिने ४० किलोमिटर बाटो निर्माण गरिएको हेलम्बु गाउँपालिकाले जनाएको छ।
हेलम्बुको कुटुङ्साङ, ठाडेपानी, गोसाइँकुण्ड, रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा भए पनि चलिरहेको छ। हेलम्बु हुँदै लाङ्टाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण गरिएको बताइएको छ।
ह्योल्मोभूमि र धार्मिकस्थलका रूपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पदमार्ग निर्माण गरिएको हो। योजनाअनुसार हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।
झण्डै एक सय किलोमिटर दूरीमा रहेको काठमाडौँको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमा गाउँ कुटुङ्साङबाट ठाडेपानी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङगुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले चलिरहेको स्थानीयले बताए।