बेमौसमी वर्षासँगै आएको बाढीका कारण जुम्लाका करिब दर्जन बढी विद्युतगृहमा क्षति भएको छ। तीन दिनसम्म लगातार भएको वर्षाले जुम्लाको विद्युत क्षेत्रमा ठूलो क्षति पुर्याएको हो।
जिल्लाको तातोपानी र तिला गाउँपालिकाका करिब एक दर्जन विद्युतगृहमा बाढीले क्षति पुर्याएको छ। बाढीले विद्युत आयोजनाको नहर, विद्युतगृह दुई स्थानीय तहका हजारौं बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्। गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार तातोपानी गाउँपालिकाका मात्रै पाँचवटा जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ।
यसैगरी तातोपानी–४ स्थित २ सय किलोवाटको गिरिखोला साना जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। साथै हाँकु गाउँमा रहेको साना जलविद्युत आयोजनामा पनि क्षति पुगेको ४ नम्बर वडाध्यक्ष धिरज जैशीले बताए। गिरिखोला विद्युत आयोजनाबाट भर्खरमात्रै बिजुली निकालेर गाउँमा लगिएको थियो। बत्ती बलेको खुसी साट्न नपाउँदै स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्।
बाढीले गिडिखोला जलविद्युत आयोजनाको २ सय किलोवाट क्षमताको विद्युतगृहमा रहेको आउटलेट क्यानल ५७ मिटर, इन्टेक कटान गरी पूरै संरचना पुरिएको विद्युत आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।
गिडिखोला जलविद्युत आयोजनाबाट तातोपानीका बाइराँका, राँका, लिताकोट, जर्मी, बाबिरा, डाँगीबाडा, रावतबाडालगायतका दर्जनौ गाउँमा बत्ती पुर्याउने तयारी थियो। तर विद्युतगृह, नहर सबै बाढीसँंगै बगेपछि अन्धकारमा बस्न बाध्य भएको तातोपानी–४ का स्थानीय जशदिश नेपालीले बताए।
तिला गाउँपालिका–४ मा रहेको नाङ्गाडा जलविद्युत आयोजनाको पोल र तार बगाएको छ। १६ किलोवाट क्षामताको विद्युत आयोजनाको पोल तार सबै बगाएपछि हाल विद्युत सेवा बन्द भएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताइन्।
बाढीले विद्युतगृहमा क्षतिसँंगै नहर भत्किएपछि विद्युत प्रवाह बन्द भएको स्थानीय नरबहादुर शाहीले जानकारी दिए। जिल्लामा राष्ट्रिय प्रशारण लाइनमा जोडिए पनि गाउँगाउँमा लाइन नपुग्दा अधिकांश नागरिक सौर्य ऊर्जाकै भरमा छन्।