काठमाडौं। काठमाडौं–धादिङ जोड्ने निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि सो समयमा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेको छ ।
मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ९३ सुरुङ खन्ने काम पूरा भएको छ।’ विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुखको जिम्मेवारीसमेत सम्हालिरहेका रामहरि पोखरेलले भने, “आयोजनको कुल ६५.३० प्रतिशत काम पूरा भएको छ ।
आगामी १० महिनाभित्र सुरुङ छेड्ने काम पूरा गर्नुपर्ने निर्माण कम्पनीको समयसीमा छ ।” उनका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय ९९ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ । आयोजनाको कुल भौतिक प्रगति ४४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत पूरा भएको छ ।
मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ । सुरुङमार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ)को काम समेत तीव्रताका साथ अघि बढाएको हो । तर सुरुङ खन्दा वर्षायाम भएकाले गर्दा पहिरो समेत आइरहेकाले गति लिन समय लागेको जनाइएको छ । हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट, सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ । समय सीमाअनुसार नै कामले गति लिएको भए पनि सुरुङ खन्ने क्रममा प्राविधिक कठिनाइ उत्पन्न भएको र गति लिन नसकेकाले निर्माण कम्पनीले ७ महिनाको सयम थप गर्न माग गरेको पोखरेलले बताए ।
“कोभिड–१९ का कारण पनि करिब ३ महिना समय थप गरेकोमा हाल निर्माण कम्पनीले मौखिक रुपमा ७ महिना समय थप गर्न माग गरेको छ । हामीले थप ३ देखि ४ महिनामात्र थप गर्न सकिने जनाउँदै कारण सहित प्रस्ताव पेश गर्न भनेका छौैं,” उनले भने, “तर हाल सम्म निर्माण कम्पनीले कुनै पनि प्रस्ताव पेश नगरेको अवस्था छ ।”
०७७ पुस ७ बाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाईको सुरुङमार्गको शिलान्यास गरेका थिए । लम्बाई २.६८ किमी, चौडाई ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाई २.३२ किमी, पश्चिम लम्बाई ०.५६५ किमी निर्माण हुने छन् । नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । सम्झौता अनुसार काम सुरु गरेको ४२ महिनाभित्र अयोजना समापन गर्ने उल्लेख छ ।
तर कोभिड–१९ का केही महिना ढिलाइ भएपछि ३ महिना थप गरेको आयोजनाको समय सिमा ४५ महिना तोकिएको छ । आयोजना निर्माण कम्पनीले थप ७ महिना माग गरेको भए पनि सडक विभागले ३ देखि ४ महिना मात्र समय थप गर्न सकिने जनाएको छ । सम्झौता अनुसार जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले काम सुरु गरेको ४५ महिना भित्र (थप गरेको ३ महिना सहित) आगामी २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । कारोबारबाट