काठमाडौं। गर्जाङ–नयाँ खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्धारित समयभन्दा ३ वर्ष बढी समय लगाएर पूरा भएको छ। गर्जाङमा निर्माण भएको सब स्टेसन र प्रसारण लाइनको परीक्षण चार्ज सुरु भएको हो।
खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको हो। प्रसारण लाइन चार्ज गर्दा जोखिम हुने भएकाले प्रसारण लाइनको टावर र तारमुनी नजाने आयोजनाले सूचना समेत जारी गरेको छ। गर्जाङ र न्यू खिम्ती सब स्टेसनका उपकरणको परीक्षण भने एक हप्तादेखि गरिएको आयोजनाले जनाएको छ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्जाङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) को नयाँ खिम्ती सबस्टेसनमा टुंगिने ३१ किलोमिटर लामो लाइन निर्माणको काम पूरा भएको हो। लाइनमा १०५ वटा टावर निर्माण गरिएको छ। लाइन परीक्षणको बाँकी काम दसैं विदा लगत्तै भएर नियमित प्रसारणमा जाने बताइएको छ।
आयोजना अन्तर्गत गर्जाङमा १३२ केभीको नयाँ सबस्टेसन र नयाँ खिम्ती सबस्टेसनमा १३२ केभीको ‘वे’ निर्माण गरिएको छ। गर्जाङ सबस्टेसनमा १३२।३३ केभी, ३० एमभिए र ३३।११ केभी ६।८ एमभिए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मरहरू जडान गरिएको छ।
गर्जाङ सबस्टेसनबाटै स्थानीय रूपमा विद्युत् दिइने भएकोले त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने भएको छ। यो प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ।
गर्जाङ– खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए। केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै प्रसारण लाइनको तार तान्न दिएका थिएनन्।