काठमाण्डौं। बागलुङ नगरपालिकाले निर्वाचित जनप्रतिनिधि आउनासाथ आधा दर्जन महत्वकांक्षी योजना अघि सारेको थियो। २६ करोड लागतमा वन्यजन्तु उद्यान, काठेखोला थुनेर जलविहारसहितको पर्यटकीय केन्द्र बनाउने, विमानस्थल कालोपत्र गरेर आफ्नै लगानीमा जहाज चलाउने, आधुनिक बसपार्क निर्माणलगायतका महत्वपूर्ण तर केही महत्वकांक्षी योजना अघि सारेको नगरपालिकाले केही योजनाहरु निर्माण सफल गरिसकेको छ।
बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम भइरहेको छ, भने नगरपालिका नगर विकास कोषको ऋण साझेदारीमा अहिले साविक धवलागिरिमै पहिलोपटक आधुनिक बसपार्क निर्माण गरिएको छ। नगरपालिकाकै पहलमा विश्वकै लामो दाबी गरिएको गोल्डेन ब्रिज निर्माणदेखि त्यसको प्रवद्र्धनका लागि विश्व रेकर्ड राख्नसमेत पहल भइरहेको छ।
नयाँ सङ्घीय अभ्यासमा पहिलोपटक निर्वाचित जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा पुग्न थाल्दा नगरपालिकाले अर्को महत्वकांक्षी योजना अघि बढाएको छ। नगरपालिकाका अनुसार गत वर्षनै काठेखोला जलविहार परियोजनाको डिपिआर बनाउने तयारी भए पनि कोरोनाका कारण अहिले अध्ययन भइरहेको छ।
नगर प्रमुख जनकराज पौडेलका अनुसार नगरपालिकाले तत्कालै २० लाखमा योजनाको विस्तृत योजना प्रतिवेदन डिपिआर र निर्माण सुरु गर्नका लागि एक करोड बजेट विनियोजन गरिएको छ। खोलालाई पर्यटकीय केन्द्र बनाउने योजना हो, यो सम्पन्न हुँदा पर्यटकलाई पूरै एक दिन भुलाउने गरी संरचना बनाउने योजना रहेको उनले बताए।
बागलुङ–३ र ९ तित्याङ जोड्ने फड्केडाँडाको झोलुङ्गे पुल मुनिदेखि माथि नगरपालिकाले काठेखोला थुनेर ५०० मिटर लामो तलाउ बनाउने योजना बनाएको छ। खोलाको वारिपारिलाई पर्यटकीय केन्द्र बनाउने र खोलालाई थुनेर बहुआयामिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने नगरपालिकाको लक्ष्य रहेको पौडेलको भनाइ छ।
काठेखोला थुनेर सञ्चालन गरिने जलविहार परियोजना प्राविधिक टोलीले अध्ययन गर्ने र डिपिआर निर्माणको चरणमा रहेको नगरपालिकाका इञ्जीनियर मनोज शर्माले जानकारी दिए। उनका अनुसार ड्याम बनाइसकेर खोला थुनिसकेपछि विद्युत् निकालेर नियमित आम्दानी गर्न सकिनेछ।
ड्याम निर्माणपछि जलविहार गराउँदै लैजाने र विस्तारै आवश्यक संरचना थप गर्न सकिने इञ्जीनियरको भनाइ छ। बागलुङमा तलाउ नभएका कारण तलाउमा डुङ्गा सयर गराउने गरी पर्यटक आकर्षित गर्न काठेखोला नदी थुन्न थालिएको हो। नदी थुन्ने स्थानमा कुनै बस्ती र खेतीयोग्य जमिन नरहेका कारण समस्या नहुने शर्माले बताए।