काठमाडौं। पूर्वाधार विकास कार्यालय कास्कीले चार वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले आज (शुक्रबार) सूचना प्रकाशित गर्दै चार वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
उक्त निर्माण कम्पनीहरुले निर्माण कार्य गर्ने सम्झौता गरी सम्झौता बमोजिम तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको कार्यालयले जनाएको छ। निर्माण कार्य सम्पन्न गर्न पटक पटक लिखित तथा मौखिक निर्देशन मार्फत ताकेता गर्दा पनि लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै पनि चासो नदेखाएको कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
ठेक्का तोड्नु नपर्ने कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वसनिय स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन तथा निर्माण कार्य तत्काल सूचारु गर्न अनुरोध गरिएको छ।
अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौताका शर्तहरु, सार्वजानिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता रद्ध गरी कारबाहिको प्रक्रिया अगाडी बढाईने कार्यालयले जनाएको छ।
चार वटा निर्माण कम्पनीहरुमा, एस.बि.ए, एस.ए.पी, सिरुवा जोईन्ट भेन्चर र लामा बिल्डर्स कम्पनी प्रा.लि रहेका छन्। जसमा एस.बि.ए, एस.ए.पी, सिरुवा जोईन्ट भेन्चर निर्माण कम्पनीले फुर्सेखोला राम्दी मट्टीखान देउराली सडक र लामा बिल्डर्स कम्पनी प्रा.लिले बेगनास्ताल–आनन्दज्योती मा.भी. मजथना सडक निर्माण समयमा नसकेको कार्यालयले जनाएको छ।