त्रिशूली। निर्माणको १५ वर्षसम्म अलपत्र र अव्यवस्थित रहेको नुवाकोटको बट्टार बसपार्क सञ्चालनमा आएको छ । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नुवाकोटबाट काठमाडौं जाने बसको चालकसहित यात्रुलाई यात्रा सफलताको कामनासहित बसपार्क सञ्चालनमा आएको औपचारिक घोषणा गरेका हुन् ।
उनका अनुसार बसपार्क सञ्चालनका लागि एक महीनादेखि सरोकारवालासँग छलफल भइरहेको थियो । सोही छलफलको निर्णय कार्यान्वयनमा आएको हो ।
‘बसपार्क सञ्चालनका लागि नगरपालिकाको आयोजनामा सरोकारवालासँग पटक–पटक बसेको बैठकको निर्णय र गत असोज ११ गतेदेखि मुख्य बजार क्षेत्रको सवारी पार्किङ व्यवस्थित बनाउन शुरू गरेपछिको उपलब्धि हो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘निर्माण सम्पन्न भएर वर्षौंदेखि अलपत्र बनेको बसपार्क सञ्चालन गर्नुभन्दा निरन्तर चलाउनु चुनौतीपूर्ण ठानेका छौं ।’
रसुवा र नुवाकोटको पहिलो र ठूलो उक्त बसपार्क साबिक पासाङल्हामु राजमार्ग र हाल गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको अन्तरराष्ट्रिय राजमार्गबाट दुई सय मीटर भित्र पर्छ ।
‘सुविधासम्पन्न भए पनि बजार क्षेत्र र मूल सडकबाट भित्र पर्ने भनेर अलपत्र छाड्न हुन्न,’ नगरप्रमुख श्रेष्ठले भने, ‘करोडौं लगानी भइसक्यो । देखिएका चुनौती हटाउन सबै पक्ष तयार भएर लागेका छौं ।’ यसअघि बसपार्क सञ्चालनका लागि गरिएका प्रयास असफल भएकाले अब त्यस्तो हुन नदिने नगरप्रमुख श्रेष्ठले बताए । बसपार्क सञ्चालनमा अएसँगै नुवाकोटको विदुर नगर क्षेत्रमा त्रिशूली बसपार्क र बट्टार बसपार्कमा मात्रै टिकट काउन्टर हुनेछ । रसुवा जाने यात्रुको हकमा ढुंगेमा सम्पर्क केन्द्र स्थापना गरिनेछ । यसअघि बजार क्षेत्रको त्रिशूली, ढुंगे, बट्टार, विदुर, पिपलटारलगायत स्थानमा टिकट काउन्टर राखेर अव्यवस्थित बनेको सार्वजनिक यातायात सेवा व्यवस्थित र सवारी दुर्घटना न्यूनीकरण गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले बताए ।
बसपार्क सञ्चालनका क्रममा उत्पन्न समस्या समाधानका लागि नगरप्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जित, २ का अध्यक्ष दीपक कायस्थ, ४ का अध्यक्ष नीलमबाबु ढुंगेललगायत जनप्रतिनिधि र कर्मचारीले दैनिक रूपमा अनुगमन तथा निरीक्षण गरेर प्रतिवेदन तयार गर्ने भनिएको छ ।
भौतिक पूर्वाधार पर्याप्त
२०६४ सालमा निर्माण शुरू भएको बसपार्क सञ्चालनपूर्व आवश्यक भौतिक पूर्वाधारले पूर्ण बनाइएको छ । नगरपालिकाले बसपार्कका लागि आवश्यक टर्मिनलसहितको भवन, पानी, शौचालय, विद्युत्, विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन ९निर्माणको अन्तिम चरणमा० टेलिफोन, इन्टरनेट, नेपाल प्रहरीको चौकी स्थापनासहित नगर प्रहरीबाट सुरक्षा प्रबन्ध मिलाएको नगर उपप्रमुख बोगटीले जानकारी दिइन् ।