लमजुङ। आउँदो पुस महिनादेखि राष्ट्रिय विद्युत् प्रसारण लाइनमा ३० मेगावाट विद्युत् थपिने भएको छ। लमजुङमा निर्माणाधिन न्यादी जलविद्युत् आयोजनाले पुसबाट व्यावसायिक उत्पादन थाल्ने भएसँगै राष्ट्रिय विद्युत् प्रसारण लाइनमा विद्युत थपिने सुनिश्चित भएको हो।
लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको न्यादी जलविद्युत आयोजना –६ निर्माणको अन्तिम चरणमा रहेको छ। सो जलविद्युत आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सकिएको र मंसिरको अन्तिम सातादेखि परीक्षण उत्पादन थाल्ने र पुस महिनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने तयारीमा रहेको उक्त आयोजनाले जनाएको छ। सो आयोजनाको उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबाट आएको विज्ञले परीक्षण सफल भएको प्रमाणित गरेपछि मात्र परीक्षण उत्पादन सुरु गरिने भएको छ। अहिले आन्तरिक परीक्षणको काम अन्तिम चरणमा रहेको र परीक्षण प्रसारणका लागि विज्ञ टिमलाई बोलाउने तयारी भइरहेको र त्यो टोली आउनासाथ परीक्षण उत्पादन थालिने कुरा आयोजनाले जानकारी गराएको छ।
हाल आयोजनाको पावरहाउस, ड्यामसाइड, हेडवक्र्सको पानीको बहाव, गेटलगायतको आन्तरिक परीक्षण भइरहेको छ। यसको परीक्षण सफल भएको प्रमाणित गर्नका लागि पनि विज्ञ टोली आउनुपर्ने जनाइएको छ। सो आयोजनाको पावरहाउस मस्र्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा रहेको छ भने आयोजनाको बाँध सोही वडाको नाँइचेमाथि ङादी नदीमा बनाइएको आयोजनाले जानकारी गराएको छ। त्यस्तै ३ हजार ८ सय ४० मिटर सुरुङबाट पानी ल्याएर विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ। यस आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी जी ज्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरिरहेको छ।
२०७३ चैत्र ३० बाट निर्माण सुरु गरिएको आयोजना करिब ४ अर्ब ३८ करोडमा निर्माण कार्य सक्ने लक्ष्य भएता पनि निर्माण अवधि लम्बिदा लागतसमेत बढ्न गएको आयोजनाको भनाइ छ । यतिबेला भने निर्माण लागत ६ अर्ब पुग्ने अनुमान गरिएको छ।
कोभिड महामारीको कारण आयोजनाको मिति सर्दै जाँदा केही प्रतिशत लागत बढ्ने देखिएको छ। त्यस्तै वर्षायामको बाढी पहिरोको प्रकोपले पनि निर्माण कार्य प्रभावित भएको आयोजनाका फिल्ड अधिकृतले बताएका छन्। उनका अनुसार त्यो बाहेक प्रसारण लाइनको कामसमेत आफैंले गर्नुपर्ने भएपछि निर्माण खर्च केही बढी लाग्ने भएकाले आयोजनाको लागत बढ्ने स्थिति उत्पन्न हुन गएको हो। सो आयोजना निर्माणमा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आईएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीले लगानी गरेका छन् ।
नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्ने लक्ष्य रहेको छ।