काठमाण्डौं। मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दसैँको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेका हुन्।
अहिले पर्यटक धमाधम आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ।
दसैँका बेलामा दैनिक ८० भन्दाबढी पर्यटक आए पनि मौसममा खराब आएसँगै शून्य जस्तै बनेको यस पदमार्गमा पुनः पर्यटकको चहलपहल देखिएको छ । यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म पर्यटक आउन थालेको उक्त केन्द्रले जनाएको छ।
पदमार्ग आसपासका व्यापार व्यवसायसमेत फस्टाउन थालेको बताइएको छ। पर्यटक आगामी कात्तिक।मङ्सिरसम्म मात्र यस पदमार्गमा आउछन् । पर्यटक अझै बढ्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् ।
पर्यटकको चाप बढ्न थालेसँगै आफ्नो होटल विदेशी पर्यटकले भरिन थालेकाले उनीहरुको सेवामा समय बित्ने गरेको बताइएको छ।
यसअघि होटलमा आउन बुकिङ गरेका २०।२२ जनाको आठ गु्रपले बुकिङ क्यान्सिल गरेको व्यापारीहरुले बताए। पर्यटक सीमित समयका लागि समय छुट्याएर आएका हुन्छन् । तर १५।२० दिनको मौसम खराबले गर्दा उनीहरु फर्किन पर्दा व्यवसायमा समेत असर पुगेको र आउन लागेका पर्यटकसमेत कम आएको बताइएको छ।
अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएका छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका वडा नंं ७ मा पर्दछ । पदमार्गमा आउने पर्यटकले गर्दा यस प्रवेशद्वारको होटल व्यवसायमा समेत पर्यटकको चहलपहल तीव्र हुन थालेसँगै व्यवसायी व्यस्त हुने गरेका छन् ।