गोरखा। गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन्। अध्यक्ष लामाले आज प्रचण्डसँग खुमलटारमा भेट गर्दै चुमनुब्रीको सडक मर्मतका लागि सरकारसँग समन्वय गरिदिन आग्रह गरेका हुन्।
उनले प्रचण्डसँग चुमनुब्रीका बाटा मर्मतका लागि र खाद्यान्न संकट समाधानका लागि पहल गरिदिन आग्रह गरेको बताए।
केही समयअघिको अविरल वर्षाले चुमनुब्री आवतजावत गर्ने बाटा बिग्रेका छन्। कतिपय बाटाहरू गाउँपालिकाले मर्मत सुरू गरेको छ।
छेकम्पार, चुम्चेत, बिही, प्रोक, ल्हो र सामागाउँमा पहिरोले बाटो अवरूद्ध छ। बाटो अवरूद्ध हुँदा खाद्यान्न ढुवानी गर्न नसकिएको पनि लामाले बताए।
चुमनुब्रीमा सडक सञ्जाल पुगेको छैन। खाद्यान्नलगायत सामग्री खच्चडबाट ढुवानी गर्नुपर्छ।
‘चुमनुब्री क्षेत्रमा खाद्यान्न संकट भएकोले सरकारसँग समन्वय गरी तत्काल खाद्यान्न ढुवानी गर्न पहल गरिदिन अध्यक्ष प्रचण्डसँग आग्रह गरेको छु,’ उनले भने।
अध्यक्ष प्रचण्डले गृहमन्त्री बालकृष्ण खाणलाई टेलिफोन गरेर चुमनुब्रीमा खाद्यान्न व्यवस्था गर्नका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन्।