काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरको चुनावमा माओवादी कमजोर भए संघीयता, गणतन्त्र, धर्म निरपेक्षतालगायतका उपलब्धि उल्टने खतरा रहेको बताएका छन्।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सामान्य चुनाव नभएको उनको भनाइ छ।
बुधबार प्रेस सेन्टर ललितपुरसँग गरेको छलफलमा प्रचण्डले ४ मंसिरको चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्नेबीचको लडाइँ भएको दाबी गरे।
‘हाम्रा लागि ४ मंसिरको निर्वाचन सामान्य चुनाव होइन, जीवनमरणको संघर्षका रूपमा चुनाव छ। उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्नेबीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ,’ उनले भने।
उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ ४ मंसिरको चुनाव भएको ठोकुवा गरे। ‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने हुने दिन ४ मंसिरको चुनाव हो,’ उनले भने, ‘यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन। आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ।’
उनले केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको पनि बताए। ‘माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ। कमजोर भए सबै चिज उल्टने खतरा छ,’ उनले भने।