इलाम । गत कात्तिक पहिलो साता परेको अविरल वर्षाका कारण मेची राजमार्गको ९० ठाउँमा पहिरो गएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको उत्तरपूर्वी क्षेत्रका लागि मेरुदण्डका रूपमा रहेको राजमार्गका अधिकांश स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको हो ।
पहिरो गएर सडक अवरुद्ध भएको दुई साता बित्न लाग्दा पनि पहिरो पन्छाएर सडक खुलाउन कुनै पहल भएको छैन । क्षतिग्रस्त यस राजमार्गको मर्मतका लागि साढे ८ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ ।
गएको असोज १६ मा इलामको नारायणस्थान क्षेत्रमा मेची राजमार्गको आधा भाग खसेको थियो । मोटरसाइकलसम्म ओहोरदोहोर गर्न मिल्ने अवस्थामा रहेको उक्त सडक कात्तिक ३ मा मान्छेसमेत आउजाउ गर्न नसक्ने अवस्थामा जीर्ण बनेको छ ।
वर्षाका कारण माईखोला नजिक राजदुवाली, रोङको किटेनी, इलाम नपाको वरबोटे, मलाते, देउमाई नगरपालिकाको रक्से–राँके खण्डमा धेरै अवरोध देखिएको छ । तर सडक एकतर्फी रूपमा खुले पनि सामान्य पहिरो पनि नहटाइँदा दुर्घटनाको जोखिम भने बढेको छ ।
राजमार्ग अवरुद्ध भएपछि सवारी साधन बाक्ला घर र साँघुरो सडक भएको इलाम बजार क्षेत्रबाट पास भइरहेका छन् । जसका कारण नियमितको ट्राफिक जाम, प्रदूषण, कोलाहल र बजार क्षेत्रको सडक पनि क्षयीकरण हुने क्रम निरन्तर बढेको छ ।