चितवन। चितवनलाई नवलपरासीको गैंडाकोटसँग जोड्ने नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि ठेक्का आह्वान गरिएको छ। नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि सडक विभागले बुधबार करिब २ अर्बको ठेक्का आह्वान गरेको हो।
यस आयोजनाका लागि पुलको डिजाइन तयार गर्ने कार्य निर्माण कम्पनीले नै गर्छ। निर्माण कम्पनीले तयार गरेको डिजाइन सडक विभागले पास गरेपछि पुल निर्माण गरिन्छ।
प्राविधिकका अनुसार ‘सिग्नेचर पुल’ नेपालका लागि नौलो प्रविधि तथा डिजाइन हो जुन अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक ढंगबाट निर्माण गरिन्छ। विशेष गरी पर्यटन प्रवर्द्धनका लागि निर्माण गर्न लागिएको यस किसिमको पुलले पर्यटन विकासमा टेवा पुग्नुका साथै निर्माण कम्पनीको समेत ‘सिग्नेचर’ झल्कने निर्माण व्यवसायीहरुको अपेक्षा छ।
नारायणी नदीमा बन्ने पुल ५०० मिटर लामो हुने छ। यो पूर्ण रुपमा पर्यटकमैत्री बन्ने समेत सडक विभागले जनाएको छ।
वि.सं. २०७५ सालमा पहिलो चरणमा ४ वटा सिग्नेचर पुल निर्माणका लागि विश्व बैंकले ४ अर्ब लगानी गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको थियो। सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन भनि प्रस्ताव गरेपछि बैंकले सहुलियत ब्याजदरमा ऋण दिन सहमति जनाएको थियो।
नेपालमा फरक किसिमबाट बनेका केही पुलहरुले पाएको चर्चा, लोकप्रियताका कारण पर्यटन प्रवर्द्धनमा मद्यत पुगेपछि ‘सिग्नेचर पुल’ को अवधारणा ल्याइएको हो। फरक, आकर्षक डिजाइनमा बनाइएको पुलले देशमा बाह्य पर्यटक भित्र्याउन मद्यत पुग्ने सरकारको अपेक्षा छ। सोही अनुसार पहिलो पटक नारायणी नदीमा ‘सिग्नेचर पुल’ बनाउन प्रक्रिया अघि बढाइएको छ।
नेपालमा विभिन्न स्थानमा गरी जम्मा २० वटा यस किसिमका ‘सिग्नेचर पुल’ बनाउने योजना छ। २० वटा सिग्नेचर पुलका लागि करिब ३० अर्ब लागत लाग्ने अनुमान गरिएको छ। पहिलो चरणका ४ वटा पुलका लागि विश्व बैंकसँग ऋण लिने सम्झौता भइसकेको छ भने बाँकी पुलका लागि लगानीको स्रोत खोजिरहेको सडक विभागले जनाएको छ।
कलात्मक तथा आकर्षक रुपमा बन्ने यस्ता पुल राजमार्ग र त्यस आसपासका शहरी क्षेत्र नजिकका नदीमा तयार गरिनेछ । यस्ता पुलहरु सामान्य पुल जस्तै मोटरेबल नै भएपनि नयाँ प्रविधिबाट निर्माण हुने विभागले जनाएको छ। झट्ट देख्दा नेटवर्क आर्क ब्रिज जस्तै देखिने भए पनि यो आर्क ब्रिजभन्दा अझ आकर्षक हुने बताइएको छ।
याे पनि:
नारायणी नदीमा बन्ने भयो 'सिग्नेचर पुल’