नेपाल ईन्जिनियरिङ्ग परिषद ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/०५/०५ मा पारित भएछ। हामी सबै ईन्जिनियरलाई बधाई । अब नेपालमा ईन्जिनियरिङ्ग अध्ययन गर्ने र कार्य गर्न चाहने ईन्जिनियरले लाईसेन्स परिक्षामा सफल भए मात्रै कार्य गर्न पाउनेछन्। यहाँ प्रश्न उठ्छ, नयाँ ईन्जिनियरलाई लाईसेन्स परिक्षा दिन लगाउने वित्तिकै ईन्जिनियरिङ्ग क्षेत्रको विकृती हट्छ त? के नक्कली प्रमाणपत्र वाहक ईन्जिनियर मात्रै समस्याका जड हुन त? आखिर ईन्जिनियरिङ्ग क्षेत्रका समस्याका जड के हुन त? सबैभन्दा ठूलो जड त राज्य नै हो जस्ले विकासमा अहम भुमिका खेलिदिने ईन्जिनियरिङ्ग समुदायलाई पहिचान गर्न नै चाहँदैन ?
नेपाली समाज, सरकार निर्वाध रूपमा ईन्जिनियरलाई ईन्जिनियरको पेशागत मर्यादा अनुसार राखिएका निश्चित मापदण्डमा कार्य गर्ने वातावरण नै दिँदैन । अनि ईन्जिनियरले ईन्जिनयिरलाई प्रताडित गर्छन् ।अहिलेको अवस्थामा युवा ईन्जिनियरहरू स्नातक परिक्षा पास गरिसके पछि विदेश जान भाषा परिक्षा कक्षा र भाषा परिक्षाको मिति खोजिमा हुन्छन्। भिषा प्रक्रिया नमिलीन्जेल सम्म निजि क्षेत्र, सरकारी करारमा काम गर्छ्न। भिषा आउना साथ विदेश उडि हाल्छन्।
हाल नेपालको ईन्जिनियरिङ्ग बजारमा कि भर्खर पास भएका ईन्जिनियर भेटिन्छन् कि त १५, २० वर्ष अनुभव भएका ईन्जिनियर भेटिन्छन्। त्यो बीचका ७, ८ वर्ष अनुभवका जुझारू ईन्जिनियर किन छैनन् बजारमा ? यी युवा ईन्जिनियरलाई सरकारले देशमै किन रोक्न सकेन, वहस जरूरी छैन?
नेपालमा ईन्जिनियरलाई मुलत दुई क्षेत्रमा रोजगारी मिल्छ ।
१.सरकारी सेवा
२.निजि क्षेत्र
१. सरकारी सेवा
सरकारी सेवामा स्थायी र करार सेवा पर्छन् । पढ्नमा अब्बल ईन्जिनियरहरू स्थायी सेवा प्रवेश गर्छन् तर नेता कर्मचारीका नाता गोता, ईस्टमित्र भएका आधारमा चाहि करारमा प्रवेश हुन्छन्। स्थायीमा जागिरे युवा ईन्जिनियरहरू आफ्नो काम गराई सँग सन्तुष्ट छैनन्। उनीहरू पश्चताप मानिरहेछन् किन यता आईयो भनेर । किन भने निजामती सेवामा चल्ने बाहुबलीपन, भ्रष्टचार, अराजकता, अनियमितता आदिको दलदलमा फस्न नचाहँदा नचाहँदै फसिरहेछन्। स्थानिय तहका नेताको हप्कि दप्किले लाचार बनेर जागिर खान त झन कति विवश छन् ईन्जिनियरहरू । बजारमा उत्पादित थौरे ईन्जिनियर मात्रै सरकारी रोजगारमा आबद्व हुन्छन्।
२.निजि क्षेत्र
क.निर्माण कम्पनी
निजि क्षेत्रबाट विकास निर्माणका कार्य गर्न थालेको वि.सं. २०१०/११ देखि हो। टोलटोलका अधिकांश चुल्ठे, मुन्द्रे, चोर फटाहा, गुण्डा, आवारा बनेकाहरू नै कालान्तरमा निर्माण व्यवसायी हुने तथ्यमा लाज मान्नु पर्दैन । अनलाईन ठेक्का सुरु नहुँदासम्म ठेक्का हाल्न जाँदा गुण्डाले सम्बन्धित कार्यालयसम्म जान दिँदैन्थे, जोसँग बलिया गुण्डा हुन्थे ठेक्का उसैको हुन्थ्यो । देशको विकास निर्माणको कार्यभार बोकेको निर्माण क्षेत्र उद्योगको रूपमा विकसित र व्यवस्थित हुन नसक्नु विडम्बनापूर्ण लाग्छ। नेपाली निर्माण व्यवसायी कुनै कामको ठेक्का परेपछि मोबिलाईजेसन बापत आएको रकम कि घरमा लगानी गर्छन् कि जग्गा प्लटीङमा लगाउँछन् त्यसपछिको निर्माणको काम अस्तव्यस्त बनाउँछन्, राजनीतिक पहुँचको प्रयोग गरि म्याद थप गरि योजनाको निर्माण अवधि बढाई रहन्छन अनि योजना ओगटी रहन्छन। अधिकांश निर्माण व्यवसायीसँग योजनाका काम गर्न सक्ने न प्राविधिक जनशक्ति हुन्छन् न त आवश्यक सरसामान नै हुन्छन्, पहुँचका आधारमा ठेक्का लियो अनि अलपत्र पारिदिने गलत प्रवृृत्ति बनिरहेको छ। पहिलो त एकदमै थोरै जनशक्ति राख्छन् अनि भएको जनशक्तिलाई पनि २४ घण्टा काममा लगाउँछन्। कतिपय निर्माण व्यवसायीसँग आफ्नो तलव लिन पनि डराई डराई माग्नु पर्छ । निश्चित समयमा तलब दिने निर्माण व्यवसायी त औँलामा गन्न सकिन्छ। अधिकांश निर्माण व्यवसायी त न मागुन्जेल कहिल्यै तलव दिँदैन्न ति क वर्गका निर्माण व्यवसायी हुन या घ वर्गाका निर्माण व्यवसायी ।
अधिकांश निर्माण व्यवसायी काम गर्न राखिएका प्राविधिकको जासुसी गर्ने आफ्ना आफन्त नै राखेका हुन्छन जसको काम भनेको त्यो प्राविधिकले के खान्छ, कहाँ जान्छ, कोसँग बोल्छन् भनेर पूरा जानकारी दिनु हुन्छ । आफ्ना व्यवस्थापकीय कमजोरी लुकाउन दोष जति सबै काममा खटिने प्राविधिकलाई लगाउँछन्, अनि मुखमा आए जति गाली गर्छन्। जस्को कारणले निर्माण व्यवसायीकोमा काममा जानू भन्दा पहिले हजार चोटी सोच्नु पर्ने हुन्छ ।
गुणस्तर कायम गरेको नै हुदैनन् एक बोह्रा सिमेन्ट, एक घनमिटर बालुवा चोरी गरेर थुप्रै नाफा गर्छु भन्ने मानसिकता अझै अधिकांश निर्माण व्यवसायीकाे रहेको छ। जस्को परिणाम स्वरूप बनिसकेका विकासका योजना महिना दिन, दुई महिना, छ महिना सम्म पनि टिकेका हुँदैनन् । मन्त्री, सांसद र सरकारी निकायलाई प्रभावमा पारेर कामको गुणस्तर नियन्त्रण गर्न बसेका परामर्शदाताका कुरा सुन्नै खोज्दैन्न वा भनाैँ दादागिरी देखाउँछन् । आफ्ना व्यवस्थापकीय कमजोरीले काम गर्न नसक्दा पनि दोष परामर्शदातालाई लगाई दिन्छन अनि सरकारी निकाय पनि उनीहरू सँगै घाँटी जोडेर हो मा हो मिलाउँछन । यसरी कामको गुणस्तर कायमै गर्न नै दिँदैनन्। अर्को समस्या भनेको निर्माण कम्पनीमा एकाधिकार हुनु। आफ्ना श्रीमती, भाईभतिजा, छोरा छोरीलाई जिम्मेवारी दिनु यिनिहरू संस्थागत रूपमा चल्न नै खोज्दैन्न। ठूला राष्ट्रिय गौरवका योजनाका ठेक्का विदेशी निर्माण व्यवसायीले गरिरहँदा र स्वदेशी निर्माण व्यवसायी वेकामे हुँदै जाँदा पनि यस्लाई कसरी उद्योगको रूपमा विकास गरेर नेपाली निर्माण व्यवसायीलाई जिवन्त राख्ने भनेर स्वयं निर्माण व्यवसायी, सरकार कहिल्यै गम्भिर देखिँदैनन्।
ख. परामर्शदाता कम्पनी
नेपालमा विशेष त तीन किसिमका परामर्शदाता कम्पनी भेटिन्छन् ।
.विज्ञका र पुराना परामर्शदाता कम्पनी
झोले परामर्शदाता कम्पनी
सरकारी कर्मचारीका आफ्नै परामर्शदाता कम्पनी
.विज्ञका र पुराना परामर्शदाता कम्पनी
यस किसिमका परामर्शदाता कम्पनी ५०, ६० वर्षदेखि विकास निमार्णका काम गरिरहेछन्। यस्का संस्थापकहरू निजि क्षेत्रमा पनि सम्भावना छ भनेर सरकारी जागिर छोड्ने दिग्गज व्यक्तित्व हुनुहुन्छ । परामर्शदातामा हुनु पर्ने सबै गुण भएका यस्ता कम्पनी भेटिन्छन्। विषय विज्ञ, ज्ञान सागर भन्न मिल्ने थुप्रै विज्ञहरू यी कम्पनीमा अटिरहनु भएको छ। यस्ता कम्पनी अहिले काम नपाएर वृद्ध बनेका छन् र गायव हुने अवस्थामा छन्। यी कम्पनी पनि आवश्यकता अनुसार संस्थागत हुन सकेनन् । कम्पनीमा आफ्ना भाई भतिजा, छोरा छोरी, श्रीमती स्थापित गर्न खोज्दा देशमा र विदेशमा खरो रुपमा उत्रन नसक्दा काम विहिन हुँदैछन । कोही, कोही भने सरकारी निकाय रिझाउन खोज्दा नसकेर कामविहिन हुँदै लोप हुदैँछन्।
झोले परामर्शदाता कम्पनी
यस किसिमका परामर्शदाता कम्पनीको रजगज छ अहिले। यिनिहरूको कार्यालय भनेको झोला हो । ठूला वा साना झोले जस्को नेताका शयन कक्ष, भान्सा देखि शौचालय सम्म पहुँच छ । यिनिहरू नेताका गोडा मोल्छन अनि ठूला तथा साना आयोजना हात पार्छन् । यिनिहरूसँग अहिले अथाह काम छ तर न दक्ष जनशक्ति राख्छन् न तलब सुविधा नै दिन्छन्। यिनिहरू न ईन्जिनियरिङ्ग पेशाको पेशागत मर्यादा राख्छन न राख्न नै दिन्छन। सरकारी निकायलाई डर धाक धम्कीमा वा प्रलोभन पारि काम लिने परिपाटी बनेको छ । जस्का कामका गुणस्तर हामी सबैले अनुभव गरिरहेछौँ ।
सरकारी कर्मचारीका आफ्नै परामर्शदाता कम्पनी
अधिकांश सरकारी कार्यालयका सरकारी ईन्जिनियरका श्रीमती , छोराछोरी, नाता गोता ईस्टमित्रका नाममा दर्ता हुन्छन्। अनि आफू कार्यरत कार्यालयका परामर्शका काम आफैँ गर्यो । सो को प्रतिबेदन आफैँ प्रमाणित गर्यो। यिनिहको कामको गुणस्तर चाँही सरकारको कामले देखाईरहेको छ। देशमा ईन्जिनियरिङ्ग क्षेत्रको पेशागत मर्यादा राखेर गुणस्तरीय काम नगर्ने यिनै झोले कम्पनीले अहिले निजि क्षेत्रमा काम गर्न नसकिने अवस्था आएको छ।
Tractebel Engineering GMBH(ISO 37001:2016) Beilgum,SMEC Australia a global Engineering management and development consultancy, Yooshin Engineering Corporation South Korea जस्ता विदेशी परामर्शदाता हाम्रो देशमा काम गरिरहँदा स्वदेशी परामर्शदाता कम्पनी किन संस्थागत हुन सकेनन्। निजि व्यक्तिगत परामर्शदाता कम्पनीमा सेयर सदस्य बाँडेर किन पब्लिक कम्पनी बनाउन नखोजेको? ठूलठूला बजेट हुने र बजेट चलाउने परामर्शदाता कम्पनी किन उद्योगको रूपमा रूपान्तरण हुन नसकेको? व्यक्तिगत परामर्शदाताका रूपमा थुप्रै जना विदेशमा परामर्श सेवा दिईरहेका र गतिलो रकम बुझ्न सक्ने जनशक्ति हुँदा पनि परामर्शदाता सेवालाई व्यवस्था गर्न किन सक्दैनन् हाम्रा तालुक निकाय? किनकि देशमा परामर्श सेवा व्यवस्थित गर्ने सरकारले अहिले सम्म कुनै ऐन नियम नै बनाएको छैन। परामर्शदाता कम्पनी आफ्ना र आफन्त बाहेक अरूलाई रोजगारी दिँदै दिदनन्।
राष्ट्रिय गौरवका र विशेष गरि दाताले लगानी गरेका आयोजनामा विदेशी परामर्शदाताहरू नै हावी छन्। नेपाली परामर्श दाताहरू त पुच्छर लाग्ने अनि उनीहरूलाई सस्ता नेपाली प्राविधिक खोजी दिने मात्रै हुन् । यस्ता अवसरमा कसरी ईन्जिनियरहरू आकर्षित हुन्छन ?
ग.बैंक तथा वित्तिय क्षेत्र
घरजग्गामा ऋण प्रबाह रोकिए पछि अधिकांश घरजग्गाको मुल्यांकनकर्ता ईन्जिनियरहरूको रोजी रोटी बन्द भएको छ। यो क्षेत्रमा पनि कार्य गर्न सहज छैन किन कि वित्तिय क्षेत्रका मालिकका अनावश्यक दबाब र प्रलोभनमा अनियमित कम पनि गरिदिनु पर्ने वाध्यत छ। आफन्त नै पहिलो रोजाईमा हुन्छन्। यो क्षेत्रमा पनि रोजगारी सिमित मात्रै हुन्छ।
घ.एनजिओ र आईएनजिओ
सयुक्त राष्ट्रसंघ अन्तर्गतका निकाय, विदेशी दाताका निकायका जागिर जहाँ डलरमा तलब सुविधा दिने हुँदा सबैभन्दा आकर्षक रोजगारी को क्षेत्र मानिन्छ। भौतिक कार्य भन्दा तालिम गोष्ठी सेमिनार धेरै हुने तथा प्रतिबेदन पेश गरिरहनु पर्ने कार्य यहाँ गरिन्छ। यहाँका अधिकांश जागिरका अवसरमा त्यही कार्यरत कर्मचारी तथा नेताका नातावाद, कृपावादका आधारमा छनोटमा गरिन्छ। यी क्षेत्रमा धेरै कम मानिसको पहुँच हुन्छ त्यसै कारण रोजगारीका अवसर सिमित हुन्छन्।
ङ.निजि उद्योग र अन्य क्षेत्र
औधोगिकरणका क्रममा बनाईने संरचनाका लागि थौरै संख्यामा ईन्जिनियर चाहिन्छन् । तथा निजि आवास परियोजनामा नक्सा बनाउने तथा निर्माणमा सघाउने ईन्जियिरको संख्या सिमित छ।
अन्त्यमा यसरी स्थानिय तहमा वडा सदस्य, वडा अध्यक्ष, प्रशासकिय अधिकृत, गाउँपालिका प्रमुख, उप—प्रमुख, नगर प्रमुख, उपप्रमुखका अपमानजनक तथा असभ्य गतिविधि सहँदै कार्य गर्ने वाध्य स्थानिय तहका ईन्जिनियर, नेता, कर्मचारीका नेता तथा अन्य समुहका कर्मचारीबाट प्रताडित सरकारी ईन्जिनियर तथा सरकारी निकायका ईन्जिनियर, नेता, समुदायबाट प्रताडित निजि क्षेत्रका ईन्जिनियरका पिडा र वाध्यात्मक अवस्थाका बारेमा कसैले कहिल्यै किन राष्ट्रिय रुपमा बहस गरिएन्।
ईन्जिनियरको काम कर्तव्य, हक अधिकारका लागि लडिदिने संस्था नेपाल ईन्जिनियरिङ्ग एसोसेसन, परामर्शदाता कम्पनीमा कार्यरत ईन्जिनियरका लागि लड्ने सोसाईटी फर ईन्जिनियरीङ्ग एण्ड आर्काेटेक्ट फर्म, निर्माण व्यवसायी कम्पनीमा कार्यरत ईन्जिनियरका लागि लड्ने सोसाईटी फर कन्टयाक्टर ईन्जिनियर फर्म, मुल्याकनकर्ता ईन्जिनियरहरूको लागि लड्ने भ्यालुयटर ईन्जिनियरीङ्ग फर्म आदिले पनि ईन्जिनियरिङ्ग क्षेत्रलाई व्यवसायिक र व्यवस्थित बनाउन आवश्यक पहल कदमी नै लिन सकेनन्। यि संस्थाले न पेशागत मर्यादा कायम गर्ने अभ्यास गर्न सके न आफैं पेशागत मर्यादामा नै बाधिन सके।
सरकारले चिकित्सा क्षेत्रमा कार्य गर्ने चिकित्सकहरूले परामर्शदाता बनेर काम गरे वापतको शुल्क चाँही कायम गर्छ। देश र जनतालाई आवास तथा देशको भौतिक विकास र आवश्यकतामा अहम भुमिका खेल्ने ईन्जिनियरिङ्ग क्षेत्रका ईन्जिनियरको आधारभुत तलब सुविधा किन तोक्दैन? भर्खरै छिरेका युवा ईन्जिनियरको तलव सुविधा कति हुने र २० औं, ३० औं वर्ष देखि ईन्जिनियरिङ्ग प्रयोग गरेका वरिष्ठ ईन्जिनियरको तलव सुविधा कति हुन, सम्मान गर्ने कुनै नियम नै छनन्। विकास निर्माणका हजारौं काम अलपत्र छन्, निर्माण क्षेत्रमा मजदुर पाईदनन्, राम्रा काम जानेका प्राविधिक पाईदैनन् एका तिर, अर्को तिर वेरोजगार प्राविधिक यत्र तत्र भेटिन्छन् सँगै वेरोजगार मजदुर पनि।
समग्र ईन्जिनियरिङ्ग क्षेत्रलाई कर्मकाण्डी र उपेक्षित गराउने सरकारी नितिका कारण हाम्रा भौतिक विकास निर्माणका कामहरु कम गुणस्तरीय र दिगो हुन सकिरहेका छैन्न। साथै सरकारी र निजि क्षेत्रमा अपमान र हेला होचो सहेर स्वदेशमा काम गर्ने वाध्यता भएपछि देशबाट युवा ईन्जिनियर पलायन नहुने कुनै सवाल आउँछ? स्वदेशमा बसेर केहि गरौँ न भन्ने ईन्जिनियरहरूलाई पनि कसैले कहिल्यै प्रोत्साहन गरेका छन्? ईन्जियिर बनिसकेपछी परिवारको आकांक्षा उच्च हुनु स्वभाविक नै होला तर स्वदेशमा जागिर गरेर छाक टार्ने धौ धौको अवस्थामा पुगे पछि युवा ईन्जिनियर न विदेशिने कुनै आधार छ न त सरकार सँग? वेरोजगार प्राविधिकलाई रोजगार बनाउने, जानेकाले नजानेकालाई सिकाउँदै काम गर्ने वातावरण किन हुँदैन ?