बागलुङ। पछिल्लो तीन वर्षदेखि मध्यपहाडी लोकमार्गको घोडाबाँधेदेखि हटिया खण्डको सडकमा दर्जन घुम्ती जोखिममा छन् । कतै पहिरो खसेर बस्ती पुरिने अवस्थामा छन् भने कतै सवारीसाधन मोड्नै नसकिने अवस्थाका साँघुरा घुम्ती छन् । कुनै घुम्तीमा ग्रेड मिलेको छैन । दुर्घटनाको जोखिम उत्तिकै बढी छ । यहाँका संरचना पनि गुणस्तरहीन छन् ।
‘सडक कतै पनि गतिलो छैन, बारम्बार जोगिएर हिँड्नुपर्ने बाध्यता छ,’ स्थानीय व्यवसायी खगेन्द्र शर्माले भने, ‘सडकमा काम गरेझैं देखिन्छ, तर कहिले पनि पूरा हुँदैन ।’ एकातिरबाट थालेको काम अर्कोतिर पुग्दा भत्केर छियाछिया भइसकेको उनले सुनाए । घुम्ती र सडक छेउमा बनाउने संरचनाको जगै कमजोर भएकाले अधिकांश स्थानमा पहिरो खसेको छ । कतिपय स्थानमा तीन वर्षदेखि निरन्तर पहिरो खसिरहेको छ । यो सडकको रगेनी, झाँक्रीस्थान, काफलठुटा, मौरियालगायतका अधिकांश स्थान अत्यन्त जीर्ण छन् । गत आर्थिक वर्षदेखि नै यहाँ लोकमार्ग आयोजना कार्यालयले ५२ करोड रुपैयाँमा सडक मर्मतको काम थाले पनि उक्त कामसमेत गुणस्तरहीन भएको हो ।
‘साइट हेर्न कर्मचारी नबस्ने हुँदा कामदार र पेटी ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेका छन्,’ गलकोट–२ का अध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘अधिकांश खण्डमा नालीसमेत छैन, नालीमा बग्नुपर्ने पानीको भल सडकदेखि खेतसम्मै असरल्ल बग्छ ।’ पटक पटक आयोजना कार्यालयलाई जानकारी गराए पनि सुनुवाइ नभएको उनको गुनासो छ । गत वर्षात्मा पनि यहाँका अधिकांश घुम्ती भत्केर किसानको घरखेत पुरेको थियो । वडा–२ मा मात्रै ३ सय रोपनी धान खेत बगर बनेको प्रहरी मुचुल्कामै उल्लेख छ ।
दुदिलाभाटीका दर्जनौं घर पनि सडककै कारण जोखिममा परेका छन् । घुम्तीहरू भत्केर पहिरो खस्दा बस्ती जोखिममा परेको स्थानीय धना खत्रीले बताइन् । ‘कतिपय घरपरिवारले वर्षातमा रात बिताउनै सकेनन्,’ खत्रीले भनिन्, ‘सुरक्षित स्थान खोज्दै बस्नुपरेको थियो ।’ उनले सडकका जग बसाल्ने स्थानमा कमजोर पर्खाल लगाइएको गुनासो गरिन् । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले गुणस्तरहीन काम भएको भन्दै गुनासो आएको स्विकारे । तर उनले काम गुणस्तरीय गर्न लगाएको दाबी गरे । ‘हामीले दैनिक पुगेर हेर्न सक्दैनौं, तर साइट हेर्ने साथीहरू हुनुहुन्छ,’ भण्डारीले भने, ‘मसलाका लागि चाहिने पानी र खोलाको बालुवा झिक्नसमेत स्थानीयले दिनुभएको छैन ।’ समन्वय गरेर केही बालुवा झिके पनि अभाव भएको उनले बताए ।
राष्ट्रिय राजमार्गका लागि स्थानीय खोलाखोल्सीको बालुवा उपयोगी नहुने र तोकिएको स्थानको बालुवा प्रयोग गर्नुपर्ने मान्यता रहेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए । ‘ठेकेदारहरू आफ्नै फाइदाको बाटो मात्रै खोजेर गुणस्तरहीन सामग्री प्रयोग गर्न खोज्छन्, हामीले समयमै सचेत गर्न नियमित अनुगनम गर्नैपर्छ,’ थापाले भने, ‘स्थानीय तहमा धेरै अनुगमन भए पनि राष्ट्रिय राजमार्गमा अनुगमनको पाटो फितलो भएको छ ।’ तोकिएका अनुगमनकर्ता कोही नआएको उनले बताए ।
लोकमार्ग राष्ट्रिय गौरवको भनिए पनि मापदण्ड पालना छैन । कम्तीमा ३० मिटर सडक छाडेर मात्रै घरटहरा बनाउनुपर्नेमा त्यो समेत पालना भएको छैन । स्थानीय पालिकामा अनुमतिसमेत नलिई कतिपय सडक छेवैमा घरटहरा बनेका छन् । घरटहरा बनाउने बेलाको सामग्री सडकमै थुपार्दा सडक भत्केको छ । भत्केको स्थानमा मर्मत पनि छैन । ती स्थानमा न घरधनीले मर्मत गरेका छन् न आयोजनाले हेरेको छ ।
बागलुङभित्र मध्यपहाडी लोकमार्गको १ सय ४२ किमि खण्ड पर्छ । त्योमध्ये निसीखोला गाउँपालिकामा मात्रै सडक राम्रो छ । सदरमुकामछेवैमा समेत सडक जीर्ण छ । हिलाम्मे र कालोपत्रे गरिएका स्थानमा पनि खसेको पहिरोसमेत पन्छाइएको छैन । चाडपर्व आयो भनेपछि केही पहिरो पन्छाउने काममा मात्रै भएको खत्रीले गुनासो गरिन् । कान्तिपुरबाट