विराटनगर। वर्षा थामियो, हिलोमैलो हट्यो। यतिबेला उत्पादन थालिसक्नुपर्ने पूर्वी तराईका इँटा उद्योगहरु अधिकांश खुलेकै छैनन्। गतवर्ष २०७८र७९ कै सिजनमा उत्पादित इँटा बिक्री नभएर अत्यधिक मात्रामा स्टकमा रहँदा चालु सिजनका लागि उद्योग खुल्न नसकेका हुन्।
दसैंलगत्तै चहलपहल सुरु हुनुपर्ने धेरै उद्योगका भट्टा सुनसान छन्। मजदुर आइपुगेका छैनन्। इँटा बोकेका ट्रयाक्टर र ट्रक फाट्टफुट्ट मात्रै देखिन्छन्।
कारोबारमा आएको मन्दीले चालु वर्ष प्रदेश १ का आधाभन्दा बढी इँटा उद्योग बन्द हुने नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ का अध्यक्ष एवम् सुनसरीको एबी इँटा टायल उद्योगका सञ्चालक भीम घिमिरेले बताएका छन्। खुलेका उद्योगले पनि बढीमा ३० प्रतिशत क्षमतामा मात्र उत्पादन गर्ने उनले बताए।
घिमिरेका अनुसार गत आर्थिक वर्षदेखि नै देशमा चरम आर्थिक मन्दी छ। गत आर्थिक वर्षमा सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा पर्याप्त खर्च गर्न सकेन। इँटा भट्टाका लागि सबैभन्दा ठूलो क्रेता सरकार नै हो। तर, सरकारी खर्च नै न्यून भएपछि निर्माणका सामग्रीको विक्रीमा उल्लेखनीय ह्रास आएको छ।
‘गत वर्षका सिजनमा निजी क्षेत्रमा पनि इँटा विक्री भएन,’ उनले सुनाए, ‘सरकारले कित्ताकाटमा अनुदार नीति लिएका कारणले घडेरीको बिक्री ठप्प छ। मान्छेलाई प्लटिङबाट नयाँ जमिन खरिद गरेर त्यहाँ घर बनाउन गाह्रो परिरहेको छ। यसले गर्दा इँटाको विक्रीमा असर परेको छ।’
घिमिरेले थपे, ‘निजी क्षेत्रले भनेजति होमलोन पनि पाइरहेको छैन। पाए भने त्यसको चर्को ब्याज धान्नसक्ने अवस्था छैन। त्यसैले मध्यम र निम्नमध्यम वर्गले चाहेर पनि घर निर्माण गर्ने अवस्था छैन। यसको प्रभाव पनि इँटाकै बिक्रीमा पर्यो।’
गत वर्षकै सिजनको इँटा बिक्री नभएर उद्योगमा थाक लाग्दा मूल्यसमेत घटेको घिमिरेको भनाइ छ। उनले मोरङ–सुनसरीमा प्रति गोटा २४ रुपैयाँमा बिक्री हुन थालेको १ नम्बर इँटाको अहिलेको मूल्य २१ देखि २२ भएको जानकारी दिए।
उद्योगीले भएको इँटा सस्तोमा बेचेर भए पनि बैंकको ऋण र ब्याजबाट छुटकारा पाउन मूल्य घटेर इँटा बिक्री गरिरहेको उनको ठहर छ। कच्चा सामग्रीको अहिलेको बजारभाउमा इँटा उत्पादन गर्दा १ नम्बरको १ इँटा उत्पादन गर्न नै न्युनतम २५ रुपैयाँ पर्ने उनले बताए।
घिमिरेका अनुसार इँटाको मुख्य कच्चा पदार्थ कोइला कोभिडअघि प्रति टन १७ हजारमा पाइन्थ्यो। अहिले ५५ हजार भएको छ। त्यस बेला अमेरिकन कोइलाको प्रति टन १९ हजार थियो। अहिले अमेरिकन कोइला पाइँदैन। अमेरिकाबाट सिधा आयात गर्दा ७० हजार पर्ने देखिन्छ। भारत सरकारको प्रतिबन्धका कारण भारतीय कोइला आउन सक्तैन। कसै(कसैले चोर बाटाबाट भारतीय कोइला ल्याए पनि त्यसमा अत्यधिक मिसावट हुन्छ। अहिले इँटाभट्टाले चलाउन सक्ने भनेको इन्डोनेसियन कोइला हो। कोभिडअघि यसको मूल्य टनको १७ हजार थियो। अहिले ५५ हजार पुगेको छ।
त्यस्तै डिजलको मूल्य बढ्नाले ढुवानी खर्च पनि वृद्धि भएको छ। मजदुरको ज्याला पनि बढेको छ। उनले आफ्ना २ वटा भट्टामा एक मात्र सञ्चालन गर्ने जनाए। ‘त्यो पनि पुसको मध्यपछि आधा क्षमतामा मात्र सञ्चालन गर्छौं,’ उनले भने, ‘अहिले त नयाँ इँटा उत्पादन गरेर राख्ने ठाउँ पनि छैन। इँटाभट्टाको सबै खालि ठाउँ पुरानै इँटाले भरिएको छ। इज्जतका लागि मात्र २ मध्ये एउटा चिम्नीबाट इँटा उत्पादन गर्न लागेका हौं।’
घिमिरेले गत वर्ष आफ्नो उद्योगमा उत्पादित ८० लाखमध्ये २० लाखमात्र इँटा बिक्री भएको र ६० लाख अझै मौज्दात रहेको जानकारी दिए।
कोसी इँटा उत्पादक सङ्घका अध्यक्ष एवम् सुनसरीको मातादेवी इँटा उद्योगका सञ्चालक विजय श्रेष्ठले आफ्नो उद्योग सञ्चालनमा ल्याउने कि नल्याउने भन्ने विषयमा अहिलेसम्म निर्णय गर्न नसकेको बताए।
उनको उद्योगले गत सिजनमा ३५ लाख इँटा उत्पादन गरेकोमा २५ लाखभन्दा बढी बिक्री हुन नसकेर थन्किएको उल्लेख गरे। मोरङ र सुनसरीमा ५२ वटा इँटा उद्योग छन्। चालु वर्ष मुस्किलले १५ वटा उद्योग चल्ने अवस्था छ। त्यो पनि पूर्ण क्षमतामा नचलेर बढीमा ३० प्रतिशत क्षमतामा चल्नेछन्।
पूर्वको सबैभन्दा ठूलो इँटा उद्योग मोरङको आनन्द इँटा उद्योगका अशोक बगडियाले आफ्ना ८ वटा भट्टामध्ये यस वर्षका सिजनमा २ वटा मात्र सञ्चालन गर्ने बताए। उद्यमी बगडियाले भने ‘हाम्रो साढे २ करोड इँटा बिक्री हुन नसकेर थन्किएको छ। गत वर्ष उत्पादित इँटा हामीले ३० प्रतिशत जति मात्र बिक्री गर्न सक्यौं। बाँकी ७० प्रतिशत थाक लगाएर राख्नुपरेको छ। फेरि त्यही परिमाणमा उत्पादन गर्ने हो भने कहाँ राख्ने र कहाँ बेच्ने ? त्यसैले हामी २ वटा भट्टा मात्र चलाउने टुंगोमा पुगेका हौं।’
मोरङको जय नेपाल इँटा उद्योगका सञ्चालक महेन्द्र शाहले यस वर्ष उद्योग सञ्चालन गर्न नसक्ने जानकारी दिए। ‘पोहोरका ६० लाखमध्ये ४० लाख इँटा अझै बेच्न बाँकी छ,’ उनले भने, ‘अब थप उत्पादन गर्ने अवस्था छैन। त्यसैले उद्योग चलाउँदैनौं।’
साहका अनुसार यस अघिका वर्षमा धेरै इँटा उत्पादन गरेर आर्थिक कारोबार बलियो बनाउन सबै उद्योगी सक्रिय हुन्थे। यस वर्ष कमभन्दा कम उत्पादन गरेर बाँच्न खोजिरहेका छन्।
मोरङको एसीसी इँटा भट्टाका सञ्चालक रमेश भगतले आफ्ना ४ भट्टामध्ये यस वर्ष एक मात्र सञ्चालनमा आउने स्पष्ट पारे। उनका अनुसार भारतको पश्चिम बंगालको कुचविहारबाट गतवर्ष यति बेलासम्ममा आधाभन्दा बढी मजदुर आइसकेका थिए।
कात्तिक लाग्नेबित्तिकै प्रत्येक इँटा भट्टामा भारतीय मजदुरको लर्को लागिसक्थ्यो। तर यस वर्ष कुनै पनि उद्योगमा मजदुर आएका छैनन्। कसैले बोलाएकै छैन।बिजमान्डुबाट