दोलखा। भीमेश्वर नगरपालिकास्थित भीमेश्वर रंगशाला निर्माणको कामले कोरोना महामारीमा पनि तीव्रता पाएको छ।
भीमेश्वर नगरपालिकाका इञ्जिनीयर सुरेश राउतका अनुसार भीमेश्वर नगरपालिकाको आफ्नै स्रोतबाट निर्माणाधीन ११० मिटर लम्बाइ र ६५ मिटर चौडाई रहेको छ। रंगशाला निर्माण अन्तर्गत पहिलो चरणको काम चालू आर्थिक वर्षभित्र पूरा गरी दोस्रो चरणको कामको लागि आवश्यक प्रक्रिया अगाडि बढाइने छ।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा टुँडिखेल विस्तार गरी रंगशाला निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। किराँतेश्वर–सिमपानी जेभीले पहिलो चरणको काम २ वर्षमा पूरा गर्ने गरी २०७७ साउन २५ बाट ठेक्का सम्झौता गरी काम शुरु गरेको थियो।
अहिले रंगशालाको दक्षिणतिरको ११० मिटर लम्बाइको भवन निर्माणको क्रम निरन्तर भइरहेको छ। पहिलो चरणमा दक्षिण र पूर्वतिरको दुई तले भवनसहितको अत्याधुनिक आरसीसी प्याराफिट निर्माण हुने भीमेश्वर नगरपालिकाकाका इञ्जिनीयर सुरेस राउतको भनाइ छ।
भीमेश्वर नगरपालिकाका अनुसार दोस्रो चरणको कामका लागि आर्थिक स्रोत जुटेपछि ठेक्का आह्वान गरिने छ। दोस्रो चरणमा उत्तरतिरको प्याराफिट, खेल मैदान र टिकट काउन्टर, अतिथि आसनलगायतका संरचना तयार हुने बताइएको छ।
रंगशाला निर्माण पछि राष्ट्रियस्तरको खेलहरू सदरमुकाम चरिकोटमा संचालन गर्न सकिने छ। यसबाट चरिकोटमा खेल पर्यटकहरू आउँदा आन्तरिक पर्यटकहरुको आगमन बढ्ने नगरको विश्वास छ।
भुईंतलामा ४० ओटा व्यापारिक सटर निकालेर दुई तलाको भवन र त्यसमाथि प्याराफिट निर्माण हुने छ। उक्त नगरपालिकाका अनुसार रंगशालाको पूर्वतिर भूमिगत पार्किङ, टिकट काउण्टर, क्यान्टिन, शौचालय, बाथरुम तथा खेलकूदका कार्यालय राख्ने कोठा लगाएतका संरचना निर्माण गरिने छ।