दार्चुला। महाकाली राजमार्गबाहेक जिल्लाका सबै सडक वर्षात्को तीन।चार महिनासम्म बन्द रहन्छन् । वर्षायामको सुरुवातमै बन्द रहेका ग्रामीण कच्ची सडक तिहारसम्म पनि खुलेका छैनन् ।
ग्रामीण सडकहरू तिहार आउँदासमेत सञ्चालन नहुँदा स्थानीयले आवतजावत गर्न सास्ती खेप्नुपरेको स्थानीयवासी बताउँछन् । ब्यास र दुहु गाउँपालिकामा पर्ने टिकर सडक खुलाउने प्रयास गरिए पनि अझै खुलाउन सकेको छैन । गोकुलेश्वर–होपरी–खार–दल्लेक–खलंगा सडक होपरीसम्म शुक्रबारबाट सञ्चालनमा भएको छ । खार—दल्लेक—खलंगासम्म पुरै सडक कहिलेसम्म खुल्छ यकिन छैन । यहाँका सबै ग्रामीण सडकहरू कच्ची भएको हुनाले वर्षात्मा अवरुद्ध हुँदै आएका छन् । जिल्लाको मुख्य महाकाली लोकमार्गबाहेक अन्य सबै सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । साविकका मार्मा, दुहु र लेकम क्षेत्र जोड्ने सडकहरू पूर्ण रूपमा सुचारु नभएको स्थानीय बताउँछन् । सुचारु भएका ग्रामीण सडक पनि पानी परेको दिन बन्द हुने गरेको नौगाड गाउँपालिका–३ का प्रेमसिंह ठगुन्नाले बताए ।
‘नौगाडलाई जोड्ने सडक सदरमुकाम खलंगा र गोकुलेश्वर दुवैतिरबाट वर्षात्देखि बन्द छ,’ ठगुन्नाले भने, ‘शुक्रबारबाट गाउँपालिकाको केन्द्र होपरीसम्म सञ्चालनमा आएको छ । खारसम्म सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिन्छ ।’ ठेकेदार लगायतका सरोकारवाला निकायको समयमै सडक सञ्चालन गर्न चासो नदिँदा तिहार सुरु भए पनि बाटो खुल्न नसकेको उनको आरोप छ । वर्षात्भरिको बाढी र पहिरोका कारण बन्द भएको दार्चुला–टिंकर सडक दुहु गाउँपालिकासम्म सञ्चालनमा आए पनि ब्यासको बाटो खुलाउन सकेका छैनन् । ब्यास गाउँपालिकाको सिनासम्म सडकको ट्र्याक खोलिए पनि असारदेखि सडक बन्द हुँदै आएको छ । ट्र्याक्टरसमेत चल्ने सडक नबन्दा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको व्यास गाउँपालिका–६ हुतिका नरेश धामीले बताए । उक्त सडक कच्ची र धेरै ठाउँमा ग्रेट मिलान नहुँदा जोखिम मोलेरभन्दा केही मानिस ६र७ घण्टा लागे पनि पैदल घर जाने गरेका छन् ।
सामान गाडीमा पठाउने र मानिस पैदलै हिँडेर घर पुग्ने गरेका छन् । अवरुद्ध टिकर सडक सुचारु नभएपछि ब्यासका स्थानीय भारतीय बाटो भएर घर जाने गरेका छन् ।
लेकम क्षेत्रको महाकाली भेगमा पनि वर्षात्मा अवरुद्ध भएको सडक सुचारु भएको छैन । वर्षात्का कारण विभिन्न स्थानमा पहिरो खस्दा जौलजीवी यताको सडक सुचारु हुन नसकेको मालिकार्जुन गाउँपालिका ६ का रमेशसिह धामीले बताए । उकु, बाकु तथा लेकम गाउँपालिका लालीका स्थानीयलाई आवतजावतमा समस्या भोग्दै आएका छन् ।
यहाँका स्थानीय सदरमुकाम आउन केहीका ठाउमा महाकालीको ट्युब यात्रा तथा कोही ३र४ घण्टा पैदल हिँडेर जौलजीवी पुग्नुपर्ने बाध्यता छ । दैनिक उपभोग्य वस्तु तथा औषधि उपचारका लागि स्थानीयलाई सदरमुकाम र भारतीय बजारमा जान जोखिम मोल्नु परेको धामीले बताए । खलंगादेखि पैदल हिँडेर गाउँसम्म जानुपरेको अपिहिमाल गाउँपालिका ६ सितोलाका बिसनसिंह बुढाथोकीले सुनाए । सितोला पुग्न सदरमुकामबाट दुई दिन लाग्छ । अधिकांश स्थानीय तहसित अवरुद्ध सडक खोल्ने साधन भए पनि आफ्नो क्षेत्राधिकार बाहिरका सडक भएको भन्दै सञ्चालन गर्नेतिर चासो नदेखाएको स्थानीयको आरोप छ । कान्तिपुरबाट