बर्दिबास। लामो समयदेखि वातावरणीय प्रभाव मूल्यांकनलाई कारण देखाउँदै प्रदेशमा रोकिएको बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनाको फाइल प्रदेशबाट स्वीकृत भएको छ।
आयोजना प्रमुख देवीप्रसाद सुवेदीका अनुसार प्रदेशको वन तथा भू–संरक्षण कार्यालय र वन डिभिजन कार्यालयबाट स्वीकृत भएको उक्त फाइल केन्द्र पठाइसकिएको र छिट्टै पूर्वाधार निर्माण अगाडि बढ्ने भएको छ।
प्रदेशकै गौरवको आयोजना बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण आयोजनामा प्रदेश सरकार नै उदासीन रहेको आरोप लागिरहेका बेला फाइल सदर गर्दै संघीय सरकारको सम्बन्धित कार्यालयमा पठाइएपछि स्थानीय खुसी छन्।
संघीय सरकारको एक प्रदेश एक मेडिकल कलेज निर्माणको अवधारणाअनुसार आर्थिक वर्ष २०७३।७४ को बजेट वक्तव्यमा प्रदेश २ महोत्तरीको बर्दिबासमा, प्रदेश ५ को रूपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ।
अहिले वातावरणविद्सँगको निरन्तर छलफलपछि कलेजको संरचना निर्माणका लागि बर्दिबास नगरपालिका वडा नम्बर ४ स्थित माईस्थान सामुदायिक वनभित्र करिब ४९ हेक्टर क्षेत्रफलमा मेडिकल डिपिआर तयार भइसकेको छ। उक्त डिपिआरको ढाँचासमेत मन्त्रालयमा पेस गरिसकिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिए।
४९ हेक्टर क्षेत्रफलमा संरचना निर्माण गर्दा १९ सय ६७ रुख काटनुपर्ने उल्लेख छ। तर, डिपिआर निर्माणका लागि परामर्श सेवाप्रदायक संस्था जेभीले भने संरचना निर्माण स्थलमा ४ देखि ५ सयसम्म रुख काट्नुपर्ने बताएको छ।
मेडिकल कलेज स्थापनाको पूर्वतयारीका लागि मात्रै संघीय सरकारले लगभग ६ करोड रुपैयाँ खर्च गरिसकेको छ, भने डिपिआरको हालसम्मको रिपोर्टअनुसार संरचना निर्माण सम्पन्न गर्न अनुमानित ३० अर्ब रुपैयाँ लाग्ने बताइएको छ।