काठमाण्डौं। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ। मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न सुरु गरीएको हो।
बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ। पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ। सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख काट्नुपर्ने छ। वन डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेका अनुसार तनहुँ खण्डमा रूख काट्न वन विभागबाट स्वीकृति पाइसकेको छ।
सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ। सडकखण्डको ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ। विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ। आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१।४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ।
मुग्लिन पोखरा सडक योजना पश्चिम जामुने–पोखरा खण्डको ठेक्का पाएको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइपुगेका छन्। योजना प्रमुख प्रेमप्रकाश खत्रीका अनुसार भदौ १३ गते यनहुईका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको छ।
चार लेनको सडक सीमा दुईतर्फी २५।२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ। सडक चार लेनको बने अहिले भएका पुलको ठाउँमा नयाँ पुल बनाइनेछ।
आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम जामुने–पोखरा खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिए ।