काठमाडौं। हरेक वर्ष मनसुन र त्यसलगत्तै शुरू हुने चाडपर्व (दशैं, तिहार र छठ) का कारण नेपालमा राज्यका तर्फबाट हुने विकास निर्माणका काम पछि धकेलिने गरेको छ । यसपटक भने विकास निर्माणका काम मङ्सिर पहिलो सातासम्म धकेलिने भएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण यसपालि सिजनको शुरूमा विकास निर्माणले द्रुत गति लिन नसक्ने देखिएको सरोकारवाला बताउँछन् ।
मनसुनलगत्तै प्रमुख चाडपर्व आउने हुँदा नेपालमा कात्तिकपछि मात्रै विकास निर्माणको सिजन शुरू हुने मानिन्छ । यो वर्ष निर्वाचनका कारण मङ्सिर पहिलो सातासम्म नै विकास निर्माणका काम हुँदैन । यसले गर्दा निर्माण सामग्रीको खपत र पूँजीगत खर्च कम हुनुका साथै दोस्रो र तेस्रो चौमासमा बजेट खर्च गर्न दबाब पर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ ।
मन्त्रालयका सहसचिव शिव नेपालले चुनाव नसकिँदासम्म विकास निर्माणले गति लिने सम्भावना नभएको बताए । स्थानीय मजदूरको सहभागितामा स्थानीय स्तरमा काम हुने भए पनि ठूला विकास निर्माणले गति लिन नसक्ने उनको भनाइ छ । सामान्य विकास निर्माण र टेन्डरको काम भने नियमित हुने उनले बताए । चाडपर्व सकेर फर्केका कामदार चुनावका लागि फेरि गाउँ जाने स्थिति नभएकाले उनीहरू घरतिरै अलमलिएर बस्ने र विकास निर्माण प्रभावित हुने देखिएको मन्त्रालयको भनाइ छ ।
राजनीतिक पार्टीका अगुवाहरूको प्रभावले चाडपर्व सकिएपछि पनि कामदार साइटमा आइहाल्ने अवस्था नहुने नेपालले बताए । ‘सोचेअनुसार द्रुत गतिमा काम हुँदैन । दशैंसम्म झरी, त्यसपछि चाडपर्व अनि चुनाव जस्ता कारणले यो वर्ष पनि दोस्रो र तेस्रो चौमासमा खर्च बढाउन दबाब पर्ने देखिन्छ,’ उनले भने, ‘नयाँ टेन्डरको सूचना, बहुवर्षे ठेक्काका काम भने नियमित हुनेछन् ।’
सामान्यतया नेपालमा वर्षायामपछि दशैं, तिहार र छठजस्ता चाड आउने हुँदा त्यो नसकिँदासम्म विकास निर्माणले तीव्रता पाउँदैन ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको सिजन शुरू भए पनि चुनावले गर्दा काम प्रभावित हुने बताए । अति जरुरी काम हुने भए पनि कामदार अझै नफर्किएको उनले बताए । आन्तरिक र बाह्य ऋण बढी हुँदा अर्थ मन्त्रालयबाट विकास बजेटको रकम निकासा हुन नसकेको भन्दै सिंहले टेन्डर पनि कम आह्वान भएको जानकारी दिए ।
विकास निर्माण कम हुँदा सिमेन्टको खपत पनि कम हुने व्यवसायी बताउँछन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले अहिले सिमेन्टको खपत न्यून रहेको बताए ।
विकास निर्माणको सिजन शुरू हुँदा सिमेन्टको खपत बढ्ने अपेक्षा गरिए पनि त्यो पूरा नहुने स्थिति देखिएको उनले बताए । अहिले सिमेन्टको मूल्य पनि कम भएको छ । अहिले सिमेन्टको कारखाना मूल्य प्रतिबोरा ५५० रुपैयाँ रहेको संघले जानकारी दिएको छ । तर, भारत निकासीले सिमेन्ट उद्योगमा उत्साह थपेको थापाले बताए । अन्य कम्पनीले पनि भारत निकासीका लागि भारतीय गुणस्तर चिह्न लिन थालिसकेको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट