काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले रूपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गर्ने बताएका छन्।
सत्ता गठबन्धनबाट रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका खाणले सोमबार बुटवलका वडाहरूमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
उनले रूपन्देहीको आर्थिक, भौतिक तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागिपरेको दाबी गर्दै अहिले भइरहेको विकासको कामलाई अझै फराकिलो बनाउँदै लैजाने दाबी गरेका छन्।
गृहमन्त्री खाणले हरेक दृष्टिकोणले रूपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै जिल्लालाई देशकै नमूना बनाउने विश्वास व्यक्त गरे।
उनले भने, ‘क्षेत्रबासीले मात्रै होइन, जिल्ला र सिंगो मुलुकका नागरिकले मप्रति गर्नुभएको भरोसालाई कमी हुन दिने छैन।’
गौतमबुद्ध विमानस्थल, व्यापारिक मार्ग, सिँचाइ तथा कृषिका साना–ठूला दर्जनौं योजना रूपन्देहीमा भित्र्याएको र तिनाउ, दानव नदीले हुने गरेको कटान रोक्न आफू सिँचाइ मन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरिएको दाबी समेत गरे।
‘अब अझै मजबुत हुने गरी काम गर्नुपर्छ, नदीले कटान गरेको क्षेत्रमा जनताको जमिन छ, त्यसलाई संरक्षण गर्नुपर्छ’, उनले भने।
खाणले विकास जरूरी रहे पनि स्थानीय बासिन्दाको व्यवस्थापन नगरी कुनै पनि योजनालाई जबरजस्ती अगाडि बढाउन नहुने भन्दै जनताका लागि गरिने विकासले जनतालाई नै घरबारविहीन बनाउन नहुने बताए।