काठमाडौं। नेपालगन्जको जयसपुरमा निर्माणाधीन एकीकृत जाँचचौकी आइसिपी निर्माणको काम सुस्त गतिमा भइरहेको छ। भारत सरकारले गत कात्तिकमा ठेक्का सम्झौता गरेको सो आयोजना एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले जानकारी दिएका छन्।
भारत सरकारको दुई अर्ब ३५ करोड नेपाली रुपैयाँमा भारतकै राजदीप बिल्डकनले दुई वर्षमा सक्ने गरी निर्माणको काम थालेको हो । तर, काम थालेको एक वर्ष बित्दा पनि निर्माणले गति लिन सकेको छैन्। तीन महिना मोबिलाइज गर्ने समय लागेको र काम थाल्नेबित्तिकै दोस्रो चरणको कोरोना फैलिएकाले काममा ढिलाइ भएको इन्जिनियर भुसालको भनाई रहेको छ। त्यस्तै कोरोना सकिनेबित्तिकै बर्षात सुरु भएको र पानी जमेका कारण काममा बाँधा पुगेको पनि उनले बताएका छन्।
त्यस्तै कोरोनाले चार महिना ढिलाइ गरेको भन्दै निर्माण कम्पनीले भारत सरकारसँग चार महिना थप समय मागेको र चार महिना म्याद थप भएमा निर्माण कम्पनीले एक वर्ष चार महिना समय पाउँने भएको कारणले हाल सो समयमा काम सक्ने गरी काम अगाडि बढाएको कुरा इन्जिनियर भुसालले जानकारी गराएका छन्। यस्तै आइसिपीसम्म पुग्ने सडक र पर्खाल लगाउने काम पनि सँगसँगै भइरहेको छ। दुई दशमलव २० किलोमिटर लम्बाइ र ६० मिटर चौडाइको सो सडकमा बीचबिन्दुबाट १२ मिटर कालोपत्रे गरिने इन्जिनियर भुसालले जनाएका छन्।
८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टिन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायतका संरचना निर्माण हुनेछन् । एकै ठाउँबाट सम्पूर्ण सेवा प्रदान गर्ने यस आइसिपीको मुख्य उद्देश्य हो।
एकीकृत भन्सार जाँचचौकी आइसिपी निर्माण गर्न नेपाल–भारतबीच सन् २००५ मा सम्झौता भएको थियो। नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा आइसिपी निर्माण गर्ने सम्झौता भएकोमा विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने भैरहवा र नेपालगन्जको काम भने सँगसँगै अगाडि बढीरहेको छ।
आइसिपी निर्माण हुन थालेपछि आशा पलाएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिवले बताएका छन्। यस आइसिपी सञ्चालनमा आए यहाँका व्यापारीलाई सामान आयात र निर्यात गर्न सहज हुने भएता पनि एक वर्षदेखि काम सुरु भए पनि सुस्त गतिमा भइरहेको उनले बताएका छन्।