कास्की। पार्किङका लागि बनाइएको संरचनामा व्यवसाय चलाएपछि पोखरा महानगरपालिकाले डोजर चलाएको छ।
पार्किङ प्रयोजनका लागि भन्दै कर छुट दिएर निर्माण गरिएका भूमिगत पार्किङमा प्रयोजनविपरीत व्यवसाय चलाइएको संरचनामाथि महानगरले डोजर चलाएको हो।
महानगरका मेयर धनराज आचार्यसहितको टोलीले पोखराका विभिन्न ८ वटा भूमिगत व्यवसाय हटाउन डोजर लिएर पुगेको थियो। महानगरले भूमिगत व्यवसायमा जान प्रयोग गरिएका तीन वटा सिँढी, मापदण्ड विपरीतका छत र होर्डिङ बोर्डमाथि डोजर चलाइएको छ।
भूमिगत पार्किङस्थल भनी उल्लेख गरिएको ठाउँ प्रयोजन खुलाए अनुरूप नै प्रयोग गर्न महानगरले सूचना जारी गरेको थियो। महानगरले भदौ दोस्रो साता ३५ दिने सूचना जारी गरेको थियो।
सूचना जारी गरेपछि व्यवसायीले दसैंसम्म व्यवसाय सञ्चालन गर्न दिन आग्रह गरेका कारण महानगरले उक्त अवधि कुरेको मेयर आचार्यले बताए।
पटक पटक सूचना दिनेदेखि पार्किङ व्यवसाय चलाएका व्यवसायी र घरधनीलाई पार्किङ प्रयोजनकै लागि भूमिगत क्षेत्र प्रयोग गर्न आग्रह गरे पनि अटेर गरेपनि डोजर नै चलाउन बाध्य भएको महानगरको भनाइ छ।
महानगरले मंगलबार पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल र न्युरोडका ८ वटा भूमिगत पार्किङ क्षेत्रका व्यवसायको अनुगमन गरेको छ भने नयाँ ठाउँमा बनेका प्रयोजनविपरीतका संरचना र व्यवसाय हटाउन ३ दिनको समय समेत दिएको छ।
व्यवसायीले सामग्री हटाउँदै गरेपछि महानगरले समय दिएको हो। महानगरले अटेरी गरे डोजर चलाउने चेतावनी समेत दिएको छ।