जुम्ला। नेपाललाई खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने धावक हरिबहादुर रोकाया, विश्वरुपा बुढा, सुनमाया बुढा जुम्लाकै खेलाडी हुन्। रोकाया, बुढा मात्रै होइनन् यहाँबाट धेरै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर जितसमेत हासिल गरेका छन् । उनीहरूले हासिल गरेको उपलब्धि देखेर अन्य युवायुवतीहरू पनि एथलेटिक्स धावक सहित फुटबल, भलिबललगायत विभिन्न खेलमा रुचि राखिरहेका छन्। तर, सिंगो जिल्लामा एउटै व्यवस्थित खेल मैदान नहुँदा अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन ।
एन्फाले हरेक वर्ष एकपटक फुटबल प्रतियोगिता आयोजना गर्छ। यो प्रतियोगिता जिल्ला सदरमुकाम खलंगास्थित नेपाली सेनाले तालिम गर्ने मैदान हुन्छ। अन्य वेला सामान्य खेलाडीले मैदानमा प्रवेश पाउँदैनन्। एन्फाका अध्यक्ष भरत बुढ्थापाका अनुसार जुम्लामा खेलकुद गतिविधि बढाउन हो भने अब व्यवस्थित खेल मैदान अति नै आवश्यकता रहेको छ।
जुम्लाका स्थानीय तहहरूले ‘एक पालिका, एक रंगशाला’ निर्माणको नीति लिएका छन्। तर, जनप्रतिनिधिको एक कार्यकाल सकिन लाग्दासमेत एउटै रंगशाला बनाउनेतर्फ चासो गएको छैन।
पातारासी गाउँपालिकाको छुमचौरमा हाइअल्टिच्युट प्रशिक्षण मैदान बनाउने घोषणा गरिए पनि अहिलेसम्म बनेको छैन। हाइअल्टिच्युट मैदानको विस्तृत परियोजना प्रतिवेदन डिपिआरका लागि ३२ करोड तीन लाख खर्च भइसकेको छ ।
मैदान सम्याउने काम भइसकेको छ। तर, यसबाहेक अरू संरचना निर्माण भएको छैनन्। हाइअल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढी खेलका प्रतियोगिता गर्न सक्ने गरी निर्माण गर्ने तयारी थियो।
यसैगरी स्विमिङ पुल, छात्रावास, सुरक्षागार्ड, पाहुना घर, टिकट काउन्टरसमेत निर्माण गरिने उल्लेख छ। तर, मैदान निर्माण संघ, प्रदेश र स्थानीय तहका कुनै पनि सरकारी निकायले थप चासो देखाएका छैनन्। जिल्ला खेलकुद विकास समिति जुम्लाका अनुसार तीनवटै तहका सरकारले हाइअल्टिच्युट प्रशिक्षण मैदानलाई प्राथमिकतामा नराखेपछि बन्ने नबन्ने निश्चित भएको छैन।