नेपालगञ्ज। आठ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा लागत र समय थप हुँदै गएको छ।
२०७० माघ मसान्तसम्म निर्माण पूरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको भए पनि गत आर्थिक वर्षसम्म ७२ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ ।
सुरुमा १२ अर्ब ७० करोड रुपियाँ लागतमा आठ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि क्षेत्र विस्तार भएपछि २५ अर्ब नौ करोड रुपियाँको लागतमा आव २०८४/८५ मा पूरा गर्ने लक्ष्य लिइयो । अहिले यो आयोजनाको लागत बढेर ५२ अर्ब ८९ करोड रुपियाँ पु(याइएको छ भने निर्माण गर्ने अवधि थप गरेर आव २०८९/९० पु(याइएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर विशाल यादवले जानकारी दिए ।
अहिलेसम्म यो आयोजनामा १९ अर्ब ३४ करोड रुपियाँ खर्च भएको छ । गत आर्थिक वर्षमा सिक्टाका लागि विनियोजन भएको एक अर्ब १९ करोड ३७ लाख बजेटमध्ये काम हुन नसक्दा २६ करोड ५८ लाख रुपियाँ फ्रिज भएको थियो । पछिल्ला वर्षमा बर्सेनि डेढ अर्ब रुपियाँको हाराहारीमा बजेट विनियोजन हुने र विनियोजित बजेट पनि खर्च गर्न नसक्ने अवस्थाले आयोजनाको लागत र समय दुवै बढ्दै गएको तर सिँचाइ सुविधा नपाइरहेको अधिकांश किसानको गुनासो छ।
लक्ष्यअनुसार काम हुन नसक्दा लगानी बढ्दै गएर एकातिर देशले ठूलो आर्थिक भार खेप्नु परेको र अर्कोतिर लामो समयदेखि सिँचाइको आसमा बसेका किसानले निराशा भोग्नुपरेको विकासका लागि नागरिक सरोकार समिति बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।
चालू आर्थिक वर्षका लागि आयोजनाले पुँजीगततर्फ एक अर्ब ८५ करोड बजेट पाएको छ । १६ हजार हेक्टरमा सिँचाइ सुविधा पु(याउने लक्ष्यका साथ निर्माण कार्य सुरु भएको डडुवा शाखा नहरको निर्माण कार्य आयोजना र निर्माण कम्पनी कोस्टल पप्पु जेभी बीचको विवाद र मुद्दा मामिलाका कारण चार वर्षदेखि अलपत्र छ ।
यसका कारण डडुवा शाखा नहरको कमान्ड क्षेत्रमा पर्ने बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकासहित डडुवा, जानकी र खजुरा गाउँपालिकाका हजारौँ किसान सिँचाइ सुविधाबाट वञ्चित छन् । गोरखापत्रबाट