काठमाडौं। नेपालमा मनसुन बाहिरिएको केही समय मात्र भएको छ। लामो अवधिसम्म रहेको मनसुनले यस वर्ष राष्ट्रिय आयोजनाका निर्माण कार्यमा केही बढी नै प्रभाव पर्यो। वर्षा सुरु भएसँगै प्रभावित बन्ने निर्माण क्षेत्रका लागि वर्खाको समय अफसिजन नै।
पेट्रोलियम पदार्थ लगायत निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि, विभिन्न मागसहित नेपाल निर्माण व्यवसायी महासंघले घोषणा गरेको 'निर्माण होलिडे', त्यसलगत्तै सुरु भएको मनसुन लगायतका समस्याबाट यस वर्ष निर्माण क्षेत्र निकै प्रभावित बन्यो। युक्रेन र रुसको युद्धका कारण निर्माण क्षेत्रको अफसिजनमा समेत निर्माण सामाग्रीको मूल्य घट्नुको साटो बढी नै रहयो। यसले पनि निर्माण क्षेत्रलाई प्रभावित पारेको छ।
तर मनसुन बाहिरिएर तिहार पनि सकिएसँगै निर्माण क्षेत्रको सिजन शुरु भएसँगै केही निर्माण सामाग्रीको मूल्य भने घट्न थालेको छ। मनसुन बाहिरिएर सिजन शुरु भएपनि आर्थिक तरलता अभावका कारण अहिले निर्माण क्षेत्रमा मन्दी आएको निर्माण सामाग्री व्यवसायीहरु बताउँछन्। अहिले हार्डवयरको बजार ७० प्रतिशत डाउन रहेको र खपत कम भएपछि मूल्य घट्न थालेको उनीहरुको भनाइ छ। यसले निर्माण व्यवसायीलाई भने केही राहत मिल्ने देखिन्छ।
दशैंअघिको तुलनामा फलामे डण्डीको मूल्य केही घटेको छ। हाल फलामे डण्डीको फ्याक्ट्री मूल्य भ्याटसहित १०० देखि १०७ रुपैयाँ प्रतिकेजी रहेको छ। फलामे डण्डीको बजार मूल्य भने यतिबेला भ्याटसहित १०६ रुपैयाँदेखि १२० रुपैयाँ प्रतिकेजी सम्म रहेको व्यापारीहरुको भनाइ छ। गत वर्षको सिजनमा फलामे छडको फ्याक्ट्रि मूल्य भ्याट सहित प्रतिकेजी १३५ रूपैयाँसम्म पुगेको थियो।
ग्याविन जालीको मूल्य पनि दशैं अघिको तुलनामा केही घटेको छ। दशैं अघिको तुलनामा ग्याबिन जालीको मूल्य प्रति वर्ग मिटर १२ रुपैयाँले घटेको पाइएको छ। दशैंअघिसम्म फ्याक्ट्रि मूल्य भ्याट सहित प्रति वर्ग मिटर ३०० देखि ३१५ सम्म रहेको ग्याविन जालीको मूल्य हाल प्रति वर्ग मिटर २८८ देखि ३०२ सम्ममा कारोबार भइरहेको छ। गत वर्षको सिजनमा ग्याविनको फ्याक्ट्रि मूल्य भ्याट सहित प्रति वर्ग मिटर ३१५ रूपैयाँ सम्म पुगेको थियो।
सिमेन्टको मूल्यमा भने खास्सै फेरिवदल आएको छैन। गत भदौ १ गते बढेको सिमेन्टको मूल्य यथावत छ। हाल ओपिसी सिमेन्टको फ्याक्ट्रि मूल्य प्रतिबोरा ५६० देखि ६१० सम्म रहेको छ भने बजार मूल्य ६५० देखि ७२५ सम्म छ।
त्यसैगरी पिपिसी सिमेन्टको फ्याक्ट्रि मूल्य ४६० देखि ५१० सम्म छ भने बजार मूल्य ५५० देखि ६२५ प्रतिबोरा रहेको छ।
कालोपत्रेमा प्रयोग हुने अलकत्राको गत वर्ष भ्याट सहित प्रति लिटर ११७ देखि १४८ रुपैयाँ सम्म पुगेको मूल्य अहिले घटेर करिब १०५ देखि १२२ रुपैयाँ प्रति लिटर पुगेको छ।