काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहालले गोरखाका विभिन्न पाँच ठाउँमा भएको कोणसभालाई सम्बोधन गरेका छन्।
क्षेत्र नं २ का विभिन्न स्थानमा वाम–लोकतन्त्रिक गठबन्धनको आयोजनामा भएको संयुक्त चुनावी जनसभा तथा कोणसभालाई सम्बोधन गर्दै उनले अबको पाँच वर्षमा गोरखाका धुलो सडकलाई कालोपत्र गरेर छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
“गोरखा जिल्लाभित्रका सडकहरु धुलाम्मे छन्”, उनले भने, “अबको पाँच वर्षमा यी सडकलाई कालोपत्र गरेर मात्र छोडिन्छ।” अध्यक्ष दाहालले चितवन जिल्लामा पाँच वर्षमा धुलाम्मे सडकलाई पूरै कालोपत्र गरेको भन्दै अब गोरखाको पनि धुलाम्मे सडकलाई कालोपत्र गर्ने बताए। चितवपछि अब विकास गर्ने पालाे गाेरखाकाे भएकाे उनले बताए ।
उनले बृहत् शान्ति सम्झौतामार्फत हस्ताक्षर गरेर आफूले कांग्रेसको रूख चिह्नमा भोट हालेको र तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालिसकेकाले अब दुवै पार्टीका कार्यकर्ताले एकअर्काको चुनाव चिह्नमा भोट हाल्न हिच्किचाउन नपर्ने स्पष्ट पारे।
“शान्तिका लागि संविधानको रक्षाका लागि हँसिया हथौडाले पनि रूखमा भोट हाल्न तयार हुनुपर्यो”, अध्यक्ष प्रचण्डले भने, “रूखले पनि दृढताका साथ शान्तिका निम्ति, लोकतन्त्रका निम्ति संविधानको निम्ति हो भन्ने कुरालाई आत्मसात् गरी खुसी साथ हँसिया हथौडामा भोट हाल्न तयार हुनुपर्यो ।”
उनले वाम–लोकतान्त्रिक गठबन्धन बृहत् शान्ति सम्झौताको निरन्तरता पनि भएको भन्दै संविधान र लोकतन्त्रका लागि गठन भएको वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न सबैलाई अपिलसमेत गरे ।
कोणसभा सम्पन्न पछि सदरमुकाममा आयोजित भेटघाट कार्यक्रममा उहाँले प्रतिगमन एक पटक परास्त भए पनि अझै टाउको उठाउन खोजी रहेको भन्दै अबको निर्वाचनबाट त्यस्ता सदाका लागि परास्त गर्नुपर्ने बताए। “प्रतिगमनकारीहरु परास्त त भए एक पटक”, उनले भने, “यो चुनावमा फेरि राजावादी तथा अतिवादी संविधान विरोधी सबै एक ठाउँमा बसेर वाम लोकतान्त्रिक गठबन्धनकाविरुद्ध खडा छन्।”
कोणसभामा अध्यक्ष दाहालसहित गोरखा क्षेत्र नं २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार फडिन्द्र देवकोटा, प्रदेशसभा (२) का उम्मेदवार सुरेन्द्रराज पाण्डेलगायतका समानुपातिक तर्फका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो।