बझाङ। खप्तडछान्ना गाउँपालिका–५ मतुवाकी शर्मिला उपाध्यायलाई जहिल्यै पानीको चिन्ता हुन्छ । नजिकै कुवाको पानी वा टाढाको धाराबाट पानी बोकेर दैनिकी चलाउनु उनको नियति जस्तै हो ।
उपाध्यायलाई गत चैतमा भने लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्नेमा आशा पलायो । टोलमै नयाँ खानेपानीको धारा बनेपछि पानीका लागि दुस्ख गर्नु नपर्ने भन्दै टोलवासीमै खुशियाली छायो । धारा त जडान भयो तर अहिलेसम्म पानी आएको छैन ।
‘धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महीना भइसक्यो,’ उपाध्यायले भनिन्, ‘यहाँ न पानी आयो, न प्लम्बर टोली नै आए । हामी फेरि कुवाकै भर पर्नु परेको छ ।’ उनको समस्या गाउँवासीकै समस्या हो । ‘पानी नआउँदै धारा पुराना हुने भए,’ सोही ठाउँकी सविता उपाध्यायले भनिन्, ‘भोलिरपर्सि नै आउँछ भनेको पानी आठरनौ महीना बित्दा पनि आउने सुरसारै छैन ।’ उनका अनुसार धारा निर्माण गर्ने उपभोक्ता समितिले धारामा पानी छिट्टै आउने आश्वासन मात्रै दिइरहेको छ ।
उपाध्यायका अनुसार अहिले गाउँमा भएको पुरानो धाराबाट पनि निकै कम पानी आउँछ । ‘खाना पकाउन एक गाग्री पानी भर्न पनि एक घण्टा नै कुर्नुपर्छ । कहिलेकाहीँ त दिउँसो पानी भर्न घुइँचो लाग्ने हुँदा राति भर्नुपर्छ,’ उनले दुखेसो गरिन् ।
गाउँमा दिनहुँ खानेपानीको समस्या हुनुमा उपभोक्ताको लापरबाही कारक भएको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर सिंहको भनाइ छ । ‘बाहिरको ठेकेदार भए त टाढा हुन्थ्यो । गाउँमै बस्ने उपभोक्ता समितिका पदाधिकारीले गाउँकै समस्यालाई बेवास्ता गर्नु भनेको ठूलो लापरबाही हो,’ उनले भने । खानेपानी उपभोक्ता समितिका अध्यक्ष विक्रम सिंहले भने पानीको ट्याङ्की, पाइप बिछ्याउने काम सकिएको र छिट्टै धारामा पानी आउने बताए ।