सैनामैना। सैनामैना नगरपालिका –६, मा बन्दैगरेको दुई करोड रुपियाँ लगानीको कभर्ड हल अलपत्र परेको छ । खेलकुदको विकास गर्न युवाहरुलाई लक्षित गरी तयार गर्न लागिएको कभर्ड हल बजेट अभावमा बीचैमा अलपत्र परेको हो ।
वडा ६ का वडा अध्यक्ष गोपाल पोखरेलका अनुसार सो कभर्ड हल राष्ट्रिय स्तरको ब्याडमिन्टन खेल खेल्न मिल्नेगरी निर्माण गर्न लागिएको भए पनि पर्याप्त बजेट अभावमा अलपत्र परेको छ । निर्माणाधीन सो कभर्ड हलमा अहिले केटाकेटी लुक्ने छिप्ने, युवाहरु तास खेल्ने, चुरोट खाने, ड्रग्स लिने केटाहरु बस्नेगरेको स्थानीयको भनाइ छ ।
कभर्ड हलका लागि दुई किस्तामा बजेट आए पनि निर्माण काम सम्पन्न भएन । पहिलो किस्तामा ५० लाख रुपियाँ र दोस्रो किस्तामा एक करोड २० लाख रुपियाँ बजेट आएको दूधराक्ष ब्याडमिन्टन युवा क्लबका सचिव पदम पाण्डेले जानकारी दिए।
सो बजेटमध्ये पहिलो किस्ताको रकमले जग हालिएको हो र ४६ लाख रकम टेण्डर प्रकियाबाट कभर्ड हल निर्माण गर्न ठेकदारलाई ठेक्कामा दिइएको दूधराक्ष ब्याडमिन्टन युवा क्लबका सचिव पदम पाण्डेले जानकारी दिए। थप ५० लाख रुपियाँ बजेट प्राप्त भएमा कभर्ड हलको निर्माणकार्य सम्पन्न हुने उनले बताए ।
उनले भने, “कोरोनाको दोस्रो लहर चलिरहँदा कभर्ड हल निर्माण हुने म्याद सकियो, केन्द्रीय सरकारबाट म्याद थप भएन । काम रोकिएपछि बचेको बजेट फिर्ता भयो । अहिलेसम्म कभर्ड हल अलपत्र छ ।”
स्थानीय युवा युवराज भूषालका अनुसार कभर्ड हल व्याटमिन्टन खेल्ने हल बन्नुको साटो तास खेल्ने र चुरोट गाँजा तान्नेको हब बन्न लागेकाले निर्माण कार्य तत्काल सुरु हुनुपर्छ । कभर्ड हल निर्माणका लागि दुई करोड रुपियाँ आएको सुनियो तर काम सम्पन्न भएको देखिएन उनले भने ।
सैनामैना नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेका अनुसार प्रदेश सरकारबाट बजेट आउँदा किस्ता किस्तामा आएकाले काम सम्पन्न गर्न समय लागेको हो । निर्वाचनपछि थप बजेट माग गरेर निर्माणकार्य अघि बढाइने उहाँले बताउनुभयो । बजेट आउनेबित्तिकै काम शुरु हुन्छ उनले भने ।
२०७६ फाल्गुनबाट काम सुरु भएको कभर्ड हल निर्माणका लागि ४ जना ठेकदारलाई पटक पटक गरेर ठेक्का दिइएको थियो । अन्तिमसम्म काम गरेका ठेकेदार टेकबहादुर खत्रीले आवश्यक बजेट नआएपछि काम रोकिएको बताए। “समय म्याद तीन महिना थपे पनि पैसा आएन, पैसा नआएपछि काम रोकियो” खत्रीले भने ।
प्रदेश आर्थिक मामिला मन्त्रालयकी अधिकृत जीवकला भण्डारीका अनुसार अनुदान कोटाबाट छुटयाइएको सीमित बजेट भएकाले निर्माणकार्य रोकिएको बताए । यो वर्ष निर्माणका लागि बजेट व्यवस्था नगरिएकाले सहयोग उपलब्ध गराउन नसकिएको बताए ।