एकदिन यत्तिकै फेसबुक स्क्रोल गर्दै थिएँ। स्क्रिनमा एउटा अस्ट्रेलिया गएको साथीले आफ्नै कारमा ड्राइभ गरिरहेको भिडियो हालेको रहेछ। भर्खर आफ्नो घर आउने बाटो बिग्रेर बैकल्पिक बाटोबाट घर आइपुगेको थिएँ। उसले हालेको चिल्लो, फराकिलो बाटोले मन नै कटक्क खायो।
देशको राजनीतिक अस्थिरता र अव्यवस्थित सुशासनदेखि अवाक भएको मलाई त्यहाँको विकासले मन नै लोभायो। धेरै पछि उसको भिडियो देखेको हुनाले अरु कस्तो रहेछ भनेर प्रोफाइल नै खोलेर हेरेँ। त्यहाँको विकासले मन नै फुरुङ्ग बनायो। अग्ला अग्ला बिल्डिंग, सुन्दर आकृतिका धरोहर अनि यता भूकम्पदेखि भत्किएका मन्दिरहरुको संरक्षण अहिले सम्म गरिएको छैन। न पुराना को जगेर्ना छ न त नयाँ निर्माण। फेरी सम्झे आफ्नो देशको हालत, सम्झे स्मार्ट सिटिको हालत। जहाँ संसद भवन अगाडिको बाटो, जुन बाटोलाई काठमाडौंकै राम्रो बाटो मानिन्छ, त्यहिँ खाडल पर्छ। अरु देशमा खाडल परेको भोलिपल्टै जस्ताको त्यस्तै बनाइन्छ। सर्वसाधानलाई दुख भयो भनेर तुरुन्त बनाइन्छ तर यहाँ त्यो खाडल झन् धेरै ठूलो हुँदै जान्छ र हप्तौं त्यसको बेवास्ता हुन्छ। गल्लीहरुका कुरा त परको कुरा, थापाथली र नर्भिक जस्ता ठूला अस्पताल अगाडिका बाटो एक दिन पानी पर्यो भने जागिरमा गएको मान्छे धान रोपेर आए जस्तो हुन्छ।
उदाहरण खोज्न त्यति टाढा जानै पर्दैन। आफ्नै घर अगाडि खानेपानीको पाइप राख्न खनेको एक महिना हुन लाग्यो। त्यो मर्मत हुन सकेको छैन। उसै त कार्तिकमा पनि बेलाबखत पानी परिरहेको छ। त्यो पाइप राखेर खानेपानी आउने त आशा पनि छैन। जारकै पानी ल्याउन पनि स्कुटर त्यहाँबाट कटाउन हम्मे हम्मे पर्छ। यसो सोचेँ के देशभक्ति र राष्ट्रप्रेम एकाध लेखमा र केही वक्तित्वकलामा मात्र सिमित राखेर विदेशीनु बरु सहि होला। देशप्रेमले मात्र यहाँ बस्ने हो भने बिग्रेका बाटोले हाडजोर्नीका समस्या बाहेक केही दिदैनन् जस्तो लाग्यो।
अस्ति भर्खर दशैंमा गाउँ जादाँ छहरे–टोखाको बाटोले सातो लिएको थियो। कच्ची रोड न त साईड दिने ठाउँ। त्यसरी ज्यान धराप राखेर हिँड्नु परेको छ, केवल बाटोका कारणले।
नेपाल स्वीज़रल्याण्ड जस्तै बनाउने नेताहरुको धाक फेरी अर्को मनले सम्झिँदा झनक्क रिस उठ्ने। खै, साथीले राखेको जस्तो बाटो नेपालमा हुने कहिले हो थाहा छैन। त्यहि भएर अहिलेको लागि "सम्झिने, पानी छाम्किने"।