सल्यान। छत्रेश्वरी गाउँपालिका वडा नं. ६ र ७ जोड्नलाई शारदा नदीमा पक्की पुल निर्माण गर्न थालेको साढे पाँच वर्ष पुग्न थालेको छ । सडक डिभिजन कार्यालयले पक्की पुल निर्माण गर्नका लागि चारपटक म्याद थप गरिसके पनि उक्त पुलको अहिलेसम्म जम्मा ७२ प्रतिशत काममात्र सम्पन्न भएको छ ।
सडक डिभिजन कार्यालयसँग सम्झौता गरेको ठेकेदार कम्पनीले पेटीमा अर्का ठेकेदारलाई काम गर्ने जिम्मा दिएको र काम गर्दै आएको ठेकेदारले विभिन्न बहाना बनाई बिचबिचमा छाड्दै आएकाले चारपटक म्याद थप गरिसक्दा पनि तोकेको समयमा काम सम्पन्न हुन नसकेको हो ।
पेटी ठेकेदारले लापरबाही गर्दा पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । सडक डिभिजन कार्यालय दाङले ताकेता गर्दा ठेकेदार कम्पनीले काम गरेजस्तो गर्ने, त्यसपछि चुप लागेर बस्ने गरेको छ । सम्झौता गरेअनुसार दुई वर्षमा सम्पन्न गरिसक्नुपर्ने पक्की पुलको काम ठेकेदार कम्पनीले अहिलेसम्म शारदाको वारिपारी दुई र बिचमा एक गरी तीनवटा पिलर ठड्याई एक भागमा मात्र ढलान गरेको छ । ६ करोड ८० लाख ७२ हजार रुपैयाँको कूल बजेट रहेको पुलको काम एस बीए सूर्य जेभीले गर्दै आएको थियो ।
पुल निर्माणको काम अलपत्र पर्दा ठेकेदार कम्पनीले छाडेका सामग्री त्यत्तिकै थन्किएका छन् भने समयमै सम्पन्न हुन नसक्दा स्थानीयले वर्षात्को समयमा सहज रुपमा आउजाउ गर्न सकेका छैनन् भने वर्षात्को समयमा शारदा नदी वारपार गर्न झनै कठिनाइ हुने गरेको छ । पुल निर्माणका क्रममा सिँचाइ कुलो पुरिँदा स्थानीय किसानलाई धान, गहुँ, तोरीबालीमा सिँचाई गर्न कठिनाइ भएको छ ।
राप्ती लोकमार्ग हुँदै दारिमज्युला झिम्पे खर्सुबास जानका लागि शारदा नदीमा पक्की पुल बनाउन सडक डिभिजन कार्यालय दाङले बजेट विनियोजन गरे पनि मुख्य ठेकेदारले पेटीलाई जिम्मा लगाउँदै आएको र पेटी ठेकेदारले लापरबाही गर्दै आएका कारण अलपत्र परेको स्थानीय दलबहादुर रानाले बताए । पुलको काम बिचैमा रोकिएपछि अहिले दारिमज्युला , खर्सुबास जाने गाडीहरू शंखमूलमा रहेको अर्को पुलबाट आउजाउ गर्दै आएको उनले जानकारी दिए । उनका अनुसार पक्की पुल निर्माण गर्दा शारदा नदीमा भएको दोहनका कारण सिकाइकुलो पुरिँदा वर्षैपिच्छे धानबालीमा सिँचाइ गर्न समस्या हुने गरेको छ ।
सम्बन्धित निकायले बारम्बार ताकेता गरेपछि गत वर्ष फागुन–चैतमा काम गरेजस्तो गरेको देखिए पनि त्यो समयदेखि अहिलेसम्म एकपटक पनि ठेकेदार तथा कामदार नदेखिएको ५० वर्षीय कर्णबहादुर घर्तीले बताए । पहिला पनि वर्षमा एक–दुईपटक अलिअलि काम गरेर ठेकेदार कम्पनीले झारा टार्ने गरेको उनले जानकारी गराए । ‘यसमा सडक डिभिजन र सरकारको पनि लापरबाही छ । काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थप गर्छन्, किन कम गर्छन् ठेकेदारले,’ उनले भने, ‘जबसम्म काम नगर्नेलाई कारबाही गरी कालोसूचीमा राख्ने , लाइसेन्स जफत गर्ने तथा ४–६ वर्षसम्म कामबाट वञ्चित गर्नेजस्ता कडा नियम लागू नगर्दासम्म यस्ता समस्या बारम्बार दोहोरिरहन्छन् । कसैले तोकेको समयमा काम गर्दैनन् ।’
छत्रेश्वरी गाउँपालिका ६ स्थित शारदा नदी र त्यसको झन्डै सात मिटर तल लंकिनी खोलामा छुट्टाछुट्टै ठेकेदारले सँगै पुल निर्माणको काम सुरु गरेको र लंकिनी खोलाको पुल दुई वर्षअघि नै ठेकेदारले सम्पन्न गरी हस्तान्तरण गरी गाडी चल्न थाले पनि यतातिरको पुल अहिलेसम्म बन्न नसक्नु भनेको ठेकेदारकै लापरबाही भएको छत्रेश्वरी गाउँपालिका वडा नं. ६ का स्थानीय तथा पूर्ववडाध्यक्ष चुडामणि दसौदीले बताए । सडक डिभिजन कार्यालय दाङले म्याद थप गर्दै आए पनि गत स्थानीय निर्वाचनअघिदेखि काम नै नभएको उनले जानकारी दिए । काम नगर्ने ठेकेदारलाई कारबाही गर्नसमेत उनले माग गरेका छन् ।
आव २०७४ असार २१ गतेदेखि सुरु भएको योजना ०७६ असार २० गते सम्पन्न गर्नुपर्नेमा तोकेको समयभन्दा तीन वर्ष बढी भैसक्यो । कार्यालयले २०७६ असार २१ देखि २०७७ पुस ३० सम्म पहिलोपटक, दोस्रोपटक २०७८ असार १२, तेस्रोपटक २०७८ चैत्र ३० सम्म र चौथोपटक २०८० जेठ ३० सम्म म्याद थप गरे पनि ठेकेदारले काम नगरी अटेर गरिरहेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेस महर्जनले बताए । यसपालि पनि म्याद थप गरेर ताकेता गरिरहेको तर काम भने नगरेको उनले जानकारी गराए । उनका अनुसार एसबी सूर्य जेभीले पेटीमा भूपाल विश्वकर्मालाई काम गर्ने जिम्मेवारी दिएको छ ।
पक्की पुलको लम्बाई ७० मिटर रहेकोमा भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ७१ प्रतिशतमात्र भएको उनले बताए । ठेकेदार कम्पनीले कहिले कोरोनाका कारण कहिले वर्षात्, कहिले सामग्रीको मूल्यवृद्धिजस्ता कारण देखाई काम नगरी लापरबाही गर्दै आएको र सरकारले सम्पन्न नभएका योजनाको म्याद थप गरिदिएकाले काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न नसकिएको उनको भनाइ छ ।
ठेकेदारका लापरबाहीका कारण मात्रै सडक डिभिजन कार्यालय दाङद्वारा सल्यानमा सञ्चालित दुई दर्जनभन्दा बढी योजना तोकेको समयमै सम्पन्न हुन नसकेको डिभिजन कार्यालय दाङकै अर्का इन्जिनियर नारायण दाहालले बताएका छन् । ताकेता गरिरहेको तर ठेकेदार कम्पनीले अटेर गरिरहेका उनले जानकारी बताए । कान्तिपुरबाट