काठमाडौं । आज विश्वभर विश्व शहरीकरण दिवस मनाइएको छ । ‘जलवायु लचिलोपनका लागि शहरहरू अनुकूलन गर्ने’ नाराका साथ विश्व सहरीकरण दिवस मनाइएको हो ।
विश्वव्यापी शहरीकरणको अवसर, शहरीकरणका चुनौतिका सामना तथा शहरमा एक आपसमा सहयोग आदान–प्रदान गर्दै शहरी विकासका लागि योगदान पुर्याउने उद्देश्यका साथ हरेक वर्ष यस दिन विश्वभर विश्व सहरीकरण दिवस मनाइने गरिन्छ ।
व्यवस्थित आवास, यातायात, संचार जस्ता दैनिकीलाई सहज बनाउने सबै किसिमका सेवासुविधायुक्त क्षेत्रलाई नै शहर भनिन्छ र यो हुनु वा बनाउनुलाई शहरीकरण भनिन्छ । तर, अहिले शहरीकरणको नाममा प्रकृतिक तथा सांस्कृतिक सम्पदालाई मासेर स्मार्ट शहरको नाम झुण्ड्याउने लहर छाएको छ । यस्ता गतिविधिले शहरलाई अस्तित्वहिन मानव बस्ती बनाउनु बाहेक अरु कुनै परिवर्तन गर्न सक्दैन ।
व्यवस्थित शहरीकरणमा समयसँगै विकास भएका प्रविधिको प्रयोग हुनु एउटा पाटो भए पनि हाम्रा कला, सांस्कृतिक तथा सामाजिक पहिचानको पनि संरक्षण गर्नु अहिलेको आवश्यकता छ ।
शहरीकरणको नाममा अव्यवस्थित रुपमा निर्माण हुने भवन, सडकलगायतका संरचनाले प्राकृतिक रुपमा त विश्व कुरुप बन्दै गएको छ नै पछिल्लो समय सांस्कृतिक सम्पदा मासेर गरिने शहरीकरणले एक दिन हाम्रो पहिचान हामीबाटै खोसिने पक्का छ ।
विश्व शहरीकरण मनाइरहँदा यस विषयमा पनि विश्वले नै ध्यान दिनुपर्ने देखिन्छ । विकास निर्माण गरिनु सहि हो तर अव्यवस्थित रुपमा गरिने विकासले विनाश निम्त्याउने खतरा पनि उत्तिकै छ जसमा हामी मानवले ध्यान दिनु अति जरुरी देखिन्छ ।