काठमाडौं। ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि पाँच बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रा.लि.ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणका लागि कम्पनी र बैंकहरूबीच करिब आठ अर्ब रुपियाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
कुल १० अर्ब ७४ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैङ्कको अगुवाइमा मेगा बैङ्क, कृषि विकास बैङ्क, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैङ्कले लगानी गर्ने सहमति भएको छ ।
आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मिटर प्रति सेकेन्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत् उत्पादन गर्ने कम्पनीले जनाएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवर्द्धक सक्षम एवम् अनुभव प्राप्त संस्था तथा व्यक्तिहरू भएको हुँदा आयोजना समयमा नै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए। उनले नवीकरणीय ऊर्जाको दिगो विकासमा आफू प्रतिबद्ध रहेको बताए। अध्यक्ष थापाले आयोजनाको निर्माण निर्धारित समयभित्र नै सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
त्यस्तै, ऊर्जा डेभलपर्स प्रा.लि.का अध्यक्ष विजयबहादुर राजभण्डारीले ऊर्जा क्षेत्रको विकास गर्ने रणनीतिक एउटै भएकाले हाइड्रो भिलेजसँगको सहकार्य गरिएको बताए। अध्यक्ष राजभण्डारीले देश विकासमा हाइड्रो पावरको भूमिका आफ्नो पनि सहकार्य जनाउनका लागि काम गरिरहेको जानकारी दिए।
उनले ऊर्जा डेभलपर्सले न्यूनतम समय एवम् प्रतिस्पर्धी मूल्यमा उच्च गुणस्तरीय कार्यहरू गरी आयोजना सम्पन्न गरिसकिएको स्मरण गरे। अध्यक्ष भण्डारीले आन्तरिक तथा क्षेत्रीय बजार अध्ययन गरी अगामी दिनमा विभिन्न मोडलका जलाशय र अर्धजलाशययुक्त आयोजना निर्माण गरिने पनि बताए।
यसैगरी, सम्झौता कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायले जलविद्युत आयोजना निर्माणको समयमा सम्पन्न गर्न नसक्दा लागत बढ्ने बताए । विगत केही समयदेखि विश्वव्यापी रूपमा नै सिर्जना भएको तरलता अभावका कारण बैङ्कहरूमा लगानी योग्य रकम अभाव भएको उनको भनाइ छ ।
उपाध्यक्षले बजारमा तरलता अभाव भनिए पनि तरलता अभाव नभएको भन्दै अभाव भएको भए बैङ्क बन्द हुने अवस्था आउने बताए। बैङ्कहरूमा तरलता सङ्कट नभएर लगानी योग्य रकमको अभाव भएको छ । अध्यक्ष उपाध्यायले अहिलेको अवस्था हेर्दा कम्पनीको लागत चार रुपियाँसम्म बढेको बताए। उहाँले आर्थिक मन्दीका बाबजुद आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएकोमा खुसी व्यक्त गरे।
त्यस्तै, नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैङ्कको अग्रता र अन्य चार बैङ्कको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताए। उनले देशको आर्थिक संवृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा म्याग्दी खोला जलविद्युत आयोजनासँग आबद्ध हुन पाउँदा गर्व महसुस भएको धारणा व्यक्ति गरे।
माग्दी खोला जलविद्युत आयोजनाबाट स्थानीय निकायहरुसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीले जनाएको छ ।
आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न हुनेछ । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (आठ अर्ब पाँच करोड ७० लाख रुपियाँ) र स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपियाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुटाइएको छ ।
आयोजना सम्पन्न भएपछि सुख्खा याममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । गोरखापत्रबाट