काठमाडौं। इलामको विकासमा विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तित्वको सम्मानमा इलाम नगरपालिकामा स्रष्टा पार्क निर्माण गरिएको छ। कला, साहित्य, राजनीति, पत्रकारिता, खेलकुदका माध्यबाट इलामको विकासमा योगदान गर्नेको सम्मानमा पार्क निर्माण गरिएको हो। उक्त पार्कमा उनीहरूको नामाकंन पनि गरिएको छ।
इलाम नगरपालिका प्रमुख महेश बस्नेतका अनुसार इलाम नगरपालिकालाई हालको अवस्थामा ल्याउनका लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तिको सम्मानका लागि पार्क निर्माण गरिएको हो। उक्त पार्कको लागी इलाम नगरपालिकाले १९ लाख ५९ हजार रूपैयाँको लगानी गरेर पार्क निर्माण गरेको हो।
गरपालिकाले इलाम बजारनजिकैको खोल्सीलाई व्यवस्थापन गरेर विभिन्न संरचना बनाइरहेको छ। यही क्षेत्रमा पार्क निर्माण गरिएको हो। खोल्सी व्यवस्थापन भएको क्षेत्रमा मोटरसाइकल पार्किङ भवन, कभर्ड हल, तरकारी बजार निर्माण गरिएको छ।
यसगरी पशुबजार, आँखा अस्पताल निर्माणाधीन अवस्थामा छन्। पार्कमा चिकित्सक र नर्सको सम्मानको लागि चिकित्सक र नर्सको प्रतिमासमेत स्थापना गरिएको छ। इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंका अनुसार पार्कको प्रवेशद्वारमा इन्टरलकिङ टायल, परिसरमा नाली, सिँडी, रेलिङ, बगैँचा निर्माण भएको छ।