काठमाडौं। पूर्वसभामुख एवं लोकतान्त्रिक वाम गठबन्धनको काठमाडौँ–२ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओनसरी घर्तीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी छन्। उम्मेदवार घर्तीले मंगलबार निर्वाचत क्षेत्र केन्द्रित रहेर घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
उनको घोषणापत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायतका विषय समावेश छन् ।
काठमाडौँ–२ मा पर्यटकीय गन्तव्यको सर्किट निर्माणमा उनले प्रतिबद्धता जनाएकी छन्। यस्तै पूर्वाधार विकास र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि उनले प्रतिबद्धता जनाएकी छन्। साइकल लेनसहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रवद्र्धनमा पनि उनले जोड दिएकी छन् ।
साँखु–फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्गसँग जोड्ने र साँखु हुँदै सिन्धुपाल्चोक जोड्ने सडकलाई पूर्णता दिने पनि उनले प्रतिबद्धता जनाइन् । चाबहिल–साँखु सडकलाई शीघ्र पूर्णता दिने पनि उनको प्रतिबद्धतामा उल्लेख छ । अदालतको फैसलापछिको मुआब्जाको विवादलगायतले उक्त सडक झन्डै एक दशकदेखि पूर्ण हुन सकेको छैन ।
शङ्खरापुर नगरपालिका–३, जर्सिङपौवामा अस्पताल निर्माणको प्रतिबद्धता उनले जनाइन् ।
मनोहराको कटान नियन्त्रणका लागि एकीकृत कार्ययोजना ल्याउने तथा शालीनदी, मनोहरा–मूलपानी हुँदै बालकुमारीसम्म मनोहरा कोरिडोर निर्माण गर्ने पनि उनको प्रतिबद्धता छ । सार्वजनिक यातायात सुधारमा पनि उनको प्रतिबद्धता छ । मनोहरा कोरिडोर निर्माण गर्ने तथा पेप्सीकोलादेखि सिनामङ्गलसम्म सुरुङमार्ग निर्माण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामङ्गल आवतजावतको व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ ।
जडीबुटीदेखि तीनकुनेसम्म अन्डरपासको योजना पनि घोषणापत्रमा समेटिएको छ । सरकारले कोटेश्वरको जाम व्यवस्थापनका लागि अन्डरपासको योजना यसअघि नै वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन । गठबन्धनले उक्त विषयलाई घोषणापत्रमा सार्वजनिक गरेको छ । यस्तै, घोषणापत्रमा कागेश्वरी मनोहरालाई प्रशस्त खानेपानीयुक्त, पर्यावरणमैत्री सहर बनाउने प्रतिबद्धता छ । शङ्खरापुरमा नेपालको कला, साहित्य र संस्कृति झल्किने गरी सांस्कृतिक ग्राम निर्माणको प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । नेवाः सांस्कृतिक सहर साँखु, शालीनदी, बज्रयोगिनी तथा मणिचुड क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बृहत् गुरुयोजना बनाउने उनको घोषणपत्रमा उल्लेख छ ।