काठमाडौं। निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङमार्ग छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि समयमा पूरा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेको छ ।
मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ९३ सुरुङ खन्ने काम पूरा भएको छ ।” विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, “आयोजनको कुल ६५.३० प्रतिशत काम पूरा भएको छ ।
आगामी १० महिनाभित्र सुरुङ छेड्ने काम पूरा गर्नुपर्ने निर्माण कम्पनीको समय सीमा छ ।” उनका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटर मध्ये १ हजार ७ सय ९९ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ ।
आयोजनाको कुल भौतिक प्रगति ४४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत पूरा भएको छ । मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम पनि सुरु गरिएको आयोजनाले जनाएको छ । सुरुङ छेड्ने कामसँगै आयोजनाले फिनिसिङको कामसमेत तीव्रताका साथ अघि बढाएको छ । तर सुरुङ खन्दा पहिरोसमेत आइरहेकाले गति लिन समय लागेको जनाएको छ । हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ ।
समय सीमाअनुसार नै कामले गति लिएको भए पनि सुरुङ खन्ने क्रममा प्राविधिक कठिनाइ उत्पन्न भएको र कामले गति लिन नसकेकाले निर्माण कम्पनीले ७ महिनाको सयम थप गर्न माग गरेको पोखरेलले बताए । “कोभिड–१९ का कारण पनि करिब ३ महिना समय थप गरेको हो । हाल निर्माण कम्पनीले मौखिक रुपमा ७ महिना समय थप गर्न माग गरेको छ । हामीले ३ देखि ४ महिनामात्र थप गर्न सकिने जनाउँदै कारणसहित प्रस्ताव पेश गर्न भनेका छौैं,” उनले भने, “तर हालसम्म निर्माण कम्पनीले कुनै पनि प्रस्ताव पेश नगरेको अवस्था छ ।”आयोजनाको अघिल्लो महिना कुल भौतिक प्रगति ४२ प्रतिशत पूरा भएको थियो ।
०७७ पुस ७ बाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए । लम्बाइ २.६८ किमी, चौडाइ ३.५ मिटर, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी, पश्चिम लम्बाइ ०.५६५ किमी निर्माण हुनेछ । कोभिड–१९ र आन्तरिक तयारीका कारण केही महिना ढिलो भएको थियो । करिब २१ महिनामा आयोजनाको ६५ प्रतिशत प्रगति हासिल गरेको हो ।
कार्यतालिका अनुसार नै सुरुङमार्गको काम भइरहेकाले गर्दा निर्धारित समयमा नै पूरा हुने बताइएको भए पनि समयमा भने आयोजना पूरा नहुने देखिएको छ ।
२४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्ति सहितको टोलीले सुरुङमार्ग खन्ने काम गरिरहेको बताइएको छ । नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा आयोजना निर्माण भइरहेको हो ।
सम्झौताअनुसार काम सुरु गरेको ४२ महिनाभित्र अयोजना सम्पन्न गर्ने लक्ष्य छ । तर, कोभिड–१९ का कारण केही महिना ढिलाइ भएपछि ३ महिना थप गरेर आयोजनाको समय सिमा ४५ महिना तोकिएको छ । आयोजना निर्माण कम्पनीले थप ७ महिना माग गरेको भए पनि सडक विागले ३ देखि ४ महिनामात्र समय थप गर्न सकिने जनाएको छ । सम्झौताअनुसार जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले काम सुरु गरेको ४५ महिनाभित्र (थप गरेको ३ महिना सहित) आगामी २६ जुलाई ०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । कारोबार दैनिकबाट