खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर पार्कमा निर्माणाधीन यलम्बरको मूर्ति निर्माणको काममा स्थानीयले अवरोध गरेका छन्। स्थानीयको परम्परागत समाधिस्थल मासेर एक सय फिट अग्लो यलम्बरको कृत्रिम शालिक राख्न खोजिएको भन्दै स्थानीयले अवरोध गरेका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गौरवको आयोजना अन्तर्गत पर्ने सो योजना १० करोड २६ लाख ९६ हजार ६ सय २९ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। निर्माणको प्रारम्भिक चरणमै स्थानीयले अवरोध पुर्याएपछि यलम्बरको मूर्ति बन्ने–नबन्ने अन्योल भएको छ। ऐतिहासिक महत्वको ठाउँ भएकाले यसलाई संरक्षण गर्नुको सट्टा कृत्रिम यलम्बरको मूर्ति बनाउने नाममा पुरानो संरचना ध्वस्त पारिएकाले रोक्नु परेको स्थानीयले बताएका छन्। त्यस्तै यलम्बरको कृत्रिम मूर्ति बनाउन पुर्खाहरूको समाधि ध्वस्त पारिएकोले ऐतिहासिक महत्व बोकेको ठाउँ ध्वस्त पार्न नदिने स्थानीयको दावी रहेको छ।
यस ठाउँ किराती संस्कृति अनुसार पित्रृ खालीमा जाने पुर्खाहरूको समाधिस्थल भएकाले यस्तो ठाउँलाई संरक्षण गर्नुपर्ने उनिहरुले बताएका छन्। यलम्बरको मूर्ति निर्माण गर्दा पुर्खाको समाधिलाई संरक्षण गरी बनाउनु पर्ने स्थानीयको भनाई रहेको छ। स्थानीय तम्रुङ, गैरीगाउँ, खालिङटोल, डङ्खुरा, बीचगाउँ, बरबोट लगायत गाउँको संयुक्त समाधिस्थल भएकाले यसलाई जोगाउनुपर्ने कुरामा जोड दिइएको हो।
यस ठाउँमा यलम्बरको मूर्ति बनाउनुअघि गरेको सहमति उल्लंघन गर्दै एस्काभेटर लगाएर समाधिहरू ध्वस्त पारिएको भन्दै स्थानीय महेश राईले आपत्ति जनाएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्षले भने सहमति गरेर काम अघि बढाउने बताएका छन्। सुरुमा गरिएको सहमति अनुसार काम नभएको स्वीकार्दै अब सच्याएर काम बढाउने उनको भनाइ रहेको छ।
वडाध्यक्षका अनुसार उक्त समाधिस्थलमा भएका चिहानहरूको संयुक्त आत्माघर बनाउने, त्यहाँ भेटिएका पूरातात्विक वस्तुहरूलाई संग्रहालयमा राख्ने लगायतको सहमति थियो। तर निर्माण कम्पनीका ठेकेदार उमा तुवाचुङ अन्सुली जेभी सम्बद्ध सुनिल राईले आफू नहुँदा कामदारले संरचना भत्काएको बताएका छन्। तर अब त्यस्तो नहुने उनको प्रतिवद्धता रहेको छ।
त्यसो त उक्त निर्माणको ठेक्कामा किर्ते कागजात पेस गरेर ठेक्का पारेको भन्दै अख्तियारमा उजुरीसमेत परेको थियो। उक्त उजुरी तामेलीमा राखिएको जानकारीपछि गत कात्तिक ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख र उपप्रमुखले शीलान्यास गरी काम थालिएको नगरपालिकाका सूचना अधिकारीले बताएका छन्।