रामेछाप । घर नजिकैको विमानस्थलबाट दैनिक ४० भन्दा बढी उडान भए पनि मन्थलीकी आइती माझी हाडजोर्नीको उपचारका लागि मंगलबार कठिन सडकयात्रा गर्दै काठमाडौंतिर लागिन् । ‘काठमाडौंका लागि जहाजको उडान भएको भए सजिलै जान पाइन्थ्यो । गाडी चढ्नुहुँदैन त्यसै त बिरामी छु,’ आइती भन्छिन्, ‘काठमाडौं पुग्दा अरु थलिन्छु होला ।’
सरकारले रामेछाप विमानस्थलमा ठूलो लगानी गरिरहेको छ । तर‚ विमानस्थलको लगानी रामेछापवासीका लागि भने हैन । सीमित व्यापारिक कारोबार गर्ने विमान कम्पनी र सरकारका लागि मात्र भएको छ । रामेछापबाट काठमाडौंका लागि जहाज उड्दैनन् । पैसा कमाउनका लागि सोलुतिर मात्र उड्ने गरेका छन् ।
‘हामी काठमाडौं उड्न पाउँदैनौं । बरु नाफा कमाउन जहाजमा चाउचाउ र बियर बोकेर सोलु उडाउँछन्,’ स्थानीय पर्वत विक भन्छन्‚ ‘विमानस्थल भएको केहि फाइदा जिल्लावासीले लिन पाएनन् । रामेछाप विमानस्थलबाट यति धेरै उडान र अवतरण हुँदा रामेछापवासीलाई आँखाको रमितामात्र भएको उनले बताए । विमान कम्पनी सेवामुखीभन्दा नाफामुखी भए ।’
विदेशी यात्रुबाट मगग्गे पैसा कमाउन रामेछापबाट लुक्ला जाने जहाजले बरु लुक्लाका लागि चाउचाउ बोक्ने तर रामेछापेली बोकेर काठमाडौं उड्नेतर्फ चासो नदिने विकले बताए ।
सोलुको लुक्ला विमानस्थल जाने पर्यटकहरूलाई काठमाडौंबाट सडकमार्फत रामेछाप ल्याएर लुक्लासम्म उडाउने गरिन्छ । रामेछाप विमानस्थलकी कार्यालय प्रमुख सरिता पाण्डेका अनुसार सिजनमा रामेछापबाट लुक्लाका लागि सरदर ४० उडान हुन्छ । यात्रु (पर्यटक) घटेपछि कार्गो हालेर जहाज सोलुका लागि उड्छन् ।
काठमाडौंका लागि उडान गर्न माग गर्दा विमान कम्पनीहरू यात्रु नपुग्ने दाबी गर्छन् । ‘यात्रु पुग्लान्/नपुग्लान् एउटा कुरा भयो, तर यति धेरै उडान यहि विमानस्थलबाट गर्दा जिल्लाबासीलाई पनि केही न केही त सेवा दिनुपर्ने नीति ल्याउनुपर्ने हो,’ स्थानीय विनोद घिमिरे भन्छन्, ‘हेलिकोप्टर चार्टर गरेर उड्यो भने बल्ल पाइन्छ । जहाजले मरी गए पनि बोक्दैन ।’ जिल्लाको विमानस्थलबाट यति धेरै फाइदा कम्पनी र राज्यले लिँदा रामेछापबाट काठमाडौंसम्म सातामा एउटा मात्र भए पनि उडान राख्नुपर्ने माग आफूहरूको रहेको घिमिरेले बताए । उनले बिरामी, अशक्त, गर्भवति, वृद्धवृद्धा र सहज यात्रा गर्न रुचाउनेका लागि विमानको सेवा अत्यावश्यक रहेको बताए ।
रामेछापबाट काठमाडौंको सडक दूरी करिब ४ घण्टाको छ भने जहाजमा २० मिनेट । जहाज चढ्ने यात्रुको चाहना नभएको पनि हैन । ‘हामीले पटक-पटक जहाज उडानका लागि माग गरेका हौं,’ स्थानीय समाजसेवी गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘तर नाफामुखी कम्पनीले चासो दिएका छैनन् ।’
रामेछापबाट काठमाडौंका लागि उडान राखिदिन स्थानीयवासीले पूर्व पर्यटनमन्त्री प्रेम आले र वर्तमान मन्त्री जीवनराम श्रेष्ठसँग समेत माग गरेका थिए । दुई महिनाअघि रामेछाप विमानस्थल निरीक्षण गर्न आईपुगेका मन्त्री श्रेष्ठले रामेछापवासीको माग जायज भएको भन्दै विमान सेवा सञ्चालनबारे छलफल गर्ने बताएका थिए ।
२०३५ साल देखि सञ्चालनमा आएको रामेछाप विमानस्थलमा २०६४ सम्म साताको ३ उडान गर्ने नेपाल वायु सेवा निगमले त्यसपछि उडान गरेको छैन । निजी क्षेत्रको तारा एयरले २०६७ देखि २०७० सम्म उडान गरेको थियो । त्यसपछि यात्रु उडान थालेको छैन । हाल तारा, सीता र समिट एयरले सोलुको लुक्लातर्फको उडान गर्छन् । काठमाडौंका लागि कुनै पनि वायु सेवाले उडान राखेका छैनन् ।गाेरखापत्रबाट