पाल्पा। पाल्पाको पश्चिम भेगको वैकल्पिक सकडमार्गका रूपमा रहेको सुँगुरेढुङ्गा–नेपाने सडकको कालोपत्रे गर्ने काम तीव्र रूपमा अघि बढेको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४, सुँगुरेढुङ्गादेखि वडा नं. ६ को नेपानेसम्मको तीन किलोमिटर सडकको कालोपत्रे गर्ने काम तीव्र गतिमा अगाडि बढेको हो । समपूरक कोषअन्तर्गत सङ्घ र पालिकाको बजेटबाट सडक कालोपत्रेको काम अगाडि बढेको हो । पाल्पा रैनादेवी छहराको सुँगुरेढुङ्गादेखि रूपन्देहीको सालझन्डीसम्म पुग्ने महत्वपूर्ण सडकका रूपमा रहेको यो सडकखण्डको स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिए।
तीन किलोमिटर सडक निर्माण गर्न आठ करोड ४५ लाख रुपियाँमा २०७७ असार १५ गते पीएस–गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौताअनुसार काम भइरहेको उनले बताए।
हालसम्म सडक फराकिलो पार्ने, रिटेनिङ वाल लगाउने, बेस र सबबेस बिछ्याउने काम सकिएको गाउँपालिकाले जनाएको छ । कालोपत्रे गर्ने कामको ७५ प्रतिशत काम सकिएको र अहिले प्राइम बिछ्याउने काम भइरहेको पालिकाका इन्जिनियर ईश्वर खनालले जानकारी दिए ।
डीबीएसटी प्रविधिबाट आगामी २०७९ पुस १५ गतेसम्म कालोपत्रेको काम सकिने गरी काम भइरहेको उनले बताए। यो सडक निर्माण भएपछि पाल्पाको पश्चिम भेगको रैनादेवी छहरा, रिब्दीकोट, तिनाउ गाउँपालिकाका नागरिकलाई रूपन्देहीको बुटवल, सालझन्डीलगायतका स्थानको यात्रा गर्न सहज हुनेछ ।
यस्तै गुल्मी तथा अर्घाखाँचीका नागरिकको यात्रा समय र दूरीसमेत छोटिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूले जानकारी दिए। हाल यस क्षेत्रका नागरिक छहराबाट रिब्दीकोट, तानसेन, बाँसटारी हुँदै बुटवल, भैरहवा, सालझन्डीलगायतका स्थानसम्म जाने गरेका छन् । बाटो बनेपछि भने ३० किलोमिटरभन्दा बढी यात्रा छोटिने र दुई घण्टाको समय अवधि कम हुने स्थानीय बासिन्दाको भनाइ छ ।
रुख कटान नहुँदा ढिलाइ
यसैबीच सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सुरु गरेको नेपानेदेखि सालझन्डीसम्मको सडक कालोपत्रेको काममा भने ढिलाइ भएको छ । सुँगुरेढुङ्गादेखि रूपन्देहीको सालझन्डी सडकखण्डअन्तर्गतको साढे आठ किलोमिटर सडकको कालोपत्रे गर्ने काम ढिलाइ भएको हो ।
यस क्षेत्रमा पर्ने ५४८ वटा रुख कटान गर्न ढिलाइ भएपछि कालोपत्रेको काममा ढिलाइ भएको सडक पूर्वाधार विकास कार्यालय प्रमुख अरुण गुप्ताले जानकारी दिए।
प्रदेश सरकारको ३० करोड लगानीमा बाटो निर्माणको काम सुरु भएपछि रुख कटान गर्न ढिला हुँदा निर्माणको काम प्रभावित बनेको उनले बताए। सत्यवती र बल्ढेङ्गढी क्षेत्रमा ५४८ वटा रुखको कटान गर्न अनुमति पाएपछि काम सुरु हुने कार्यालयले जनाएको छ । गोरखापत्रबाट