सल्यान। छत्रेश्वरी गाउँपालिका–६ र ७ जोड्नेगरी शारदा नदीमा पक्की पुल निर्माण गर्न थालेको ५ वर्ष नाघिसक्यो । सडक डिभिजन कार्यालय, दाङले पुल निर्माण गर्न ४ पटक म्याद थपे पनि अझै बनिसकेको छैन ।
कार्यालयका अनुसार अहिलेसम्म ७२ प्रतिशत मात्रै काम सकिएको छ ।कार्यालयसँग निर्माण सम्झौता गरेको एसबीए–सूर्य जेभीले पेटीमा अर्का ठेकेदार भूपाल विश्वकर्मालाई काम गर्ने जिम्मा दिएको तर विश्वकर्माले विभिन्न बाहना बनाई बीचबीचमा काम छाड्दै आएकाले ढिलाइ भएको हो ।
सम्झौताअनुसार २ वर्षमा सम्पन्न गरिसक्नुपर्ने पुलको अहिलेसम्म ३ वटा पिलर ठड्याई एक भागमा मात्र ढलान गरिएको छ । ६ करोड ८० लाख ७२ हजार रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का लागेको थियो । अहिले निर्माण अलपत्र छ । ठेकेदार कम्पनीले छाडेका सामग्री त्यत्तिकै थन्किएका छन् । स्थानीयले यात्रामा सास्ती पनि भोगिरहेकै छन् । पुल निर्माणका क्रममा सिँचाइ कुलो पुरिँदा किसानलाई सिँचाई गर्न कठिनाइ भएको स्थानीय बलदेव केसीले बताए ।
राप्ती लोकमार्ग हुँदै दारिमज्युला–झिम्पे–खर्सुबास जानका लागि शारदा नदीमा पक्की पुल बनाउन थालिएको थियो । ‘तर काम बीचैमा रोकिएपछि अहिले दारिमज्युला र खर्सुबास जाने गाडीहरू शंखमूलमा अलपत्र पर्ने गरेका छन्,’ स्थानीय दलबहादुर रानाले भने, ‘पुल निर्माण गर्दा शारदा नदीमा भएको दोहनका कारण सिँचाइ कुलो पुरिँदा वर्षैपिच्छे धानबालीमा सिँचाइ गर्न समस्या हुने गरेको छ ।’
सम्बन्धित निकायले बारम्बार ताकेता गरेपछि गत वर्ष फागुन–चैतमा काम गरेजस्तो गरे पनि त्यसयता एकपटक पनि कामदार निर्माणस्थलमा नदेखिएको अर्का स्थानीय कर्णबहादुर घर्तीले बताए । ‘पहिला पनि वर्षमा एक–दुईपटक अलिअलि काम गरेर झारा टार्ने गरेका थिए,’ उनले भने, ‘यसमा सडक डिभिजन र सरकारको पनि लापरबाही छ । काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थप गर्छन्, अनि किन काम गर्छन् त ठेकेदारहरू ?’ जबसम्म काम नगर्नेलाई कारबाही गरी कालोसूचीमा राख्ने र लाइसेन्स जफत गर्ने काम हुँदैन तबसम्म निर्माण व्यवसायीको मनपरी रहिरहने उनको भनाइ छ ।
छत्रेश्वरी–६ स्थित शारदा नदी र त्यसको झन्डै सात सय मिटर तल लंकिनी खोलामा छुट्टाछुट्टै निर्माण व्यवसायीले सँगै पुल निर्माणको काम सुरु गरेका थिए । लंकिनी खोलाको पुल २ वर्षअघि नै निर्माण व्यवसायीले सम्पन्न गरी हस्तान्तरण गरी गाडी चल्न थालेका छन् । शारदा नदीको पुल अहिलेसम्म नबन्नुमा निर्माण व्यवसायीकै लापरबाही मुख्य कारण भएको छत्रेश्वरी–६ का पूर्ववडाध्यक्ष चूडामणि दसौदीले बताए ।
पुल निर्माणका लागि २०७४ असार २१ मा सम्झौता भएको थियो । सम्झौतामा २०७६ असार २० मा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, काम नसकिएपछि कार्यालयले पहिलोपटक २०७७ पुस ३० सम्म, दोस्रोपटक २०७८ असार १२ सम्म, तेस्रोपटक २०७८ चैत ३० सम्म र चौथोपटक २०८० जेठ ३० सम्म म्याद थप गरेको छ ।
कार्यालयका इन्जिनियर रिकेश महर्जनले यसपालि अन्तिमपल्ट म्याद थप गरी निर्माण छिटो सक्न ताकेता गरिरहेको बताए ।७० मिटर लम्बाइको उक्त पक्की पुलमा भौतिक प्रगति ७२ र वित्तीय प्रगति ७१ प्रतिशत मात्र भएको उनले बताए । ठेकेदारले कोरोना महामारी, बर्खा, निर्माण सामग्रीको मूल्यवृद्धिजस्ता कारण देखाई काममा विलम्ब गर्दै आएको उनको भनाइ छ ।कान्तिपुरबाट