सिन्धुली। राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सनको सुरुङ निर्माणको तयारी सुरु गरिएको छ। बहुउद्देश्यीय आयोजनाको कमलामाई–२ को कुसुमटारमा अस्थायी आवास क्याम्प समेत निर्माण गरिएको छ।
भेरी–बबई सिँचाइ आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी कोभेकले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ। कोभेकले कुसुमटारमा अधिग्रहण गरिएको जग्गामा अस्थायी आवासका लागि संरचना निर्माणसँगै सुरुङ खन्ने काम सुरु गरिने जनाएको छ।
आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षबाट सुरु भई आव २०८२।८३ सम्ममा सक्ने लक्ष्य रहेको छ। उक्त आयोजनाको सुरुङ भने टनेल बोरिङ मेसिन टीबीएमले खनिने भएको छ। आयोजनाका वरिष्ठ भूगर्भ जलविद् सिनियर डिभिजनल हाइड्रोजियोलोजिस्ट विश्वबन्धु केसीका अनुसार सुरुङको ६६ मिटर हेडेटबाट पानी झारेर ३१ मेगावाट विद्युत् उत्पादन गरिनेछ। उत्पादित विद्युत् ३७ दशमलव दुई डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत ढल्केबरमा सबस्टेसनमा जोडिने आयोजनाले जनाएको छ ।
सो आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन्। सुरुङ निर्माणसँगै विद्युत् उत्पादनका लागि चाहिने स्थायी संरचना पनि निर्माण हुनेछन्।
यस आयोजनाको मुख्य संरचनाले सिन्धुलीको सुनकोसी–६, रामेछापको खाँडादेवी–४ र मन्थली–६ क्षेत्रभित्र समुद्री सतहदेखि ४ सय ७६ मिटर समतल र ३ सय १२ हेक्टर ओगट्ने जलाशय रहने आयोजनाले जनाएको छ। आयोजना निर्माणका क्रममा बीपी राजमार्ग ९ सय मिटर, खुर्कोट–मन्थली सडक १ हजार १४ मिटर, १ दशमलव २७ किलोमिटर विद्युत् प्रसारण लाइन र दुई वटा झोलुंगे पुल डुबानमा पर्ने जनाइएको छ। बहुउद्देश्यीय आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइनेछ।
उक्त आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। बाँधपछि हुने जलाशयमा माछापालनको योजनासमेत रहेको आयोजनाले जनाएको छ। उक्त आयोजनाको निर्माण सुरुसँगै स्थानीय बासिन्दा उत्साहित बनेका छन्। स्थानीयमा रोजगारी र अन्य अवसरको समेत आशा पलाएको छ।