काठमाडौं। आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा ५ दलीय गठबन्धनले निर्वाचन पछि उद्यमशिलता विकासका कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ । स्थानीय रुपमा नै रोजगारी तथा स्वरोजगारी सिजर्ना गर्ने उद्देश्यका साथ गठबन्धनले उद्यमशिलता विकासका योजना अघि सारेको हो ।
उद्यमशिलता सँगै वातावरणीय सन्तुलनका लागि हरित उद्यम कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्ने र त्यस्ता उद्यमलाई अनुदान तथा सुलभ व्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गठबन्धनले गरेको छ । साथै हावापानी अनुकुल हुने ठाउँमा चिया, अलैंची, अम्रीसो, कफी, कुरिलो, कागती लगायतका खेतीका साथै जडिबुटि उत्पादनलाई प्रोत्साहन गरिने उम्मेदवारहरुले बताएका छन् ।
लेक तथा बेंशिहरुमा माछापालन, पशुपालनलाई प्रोत्साहन गर्दै युवालाई उत्पादनमा आकर्षित गराउनका लागि अनुदान तथा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने र त्यस्ता व्यवसायलाई नमूना व्यवसायिक केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता पनि उम्मेदवारहरुले गरेका छन् ।
यसका साथै साहसिक खेलकुदका माध्यमबाट पनि उद्यमशिलताको विकास गर्ने घोषणा गठबन्धनका उम्मेदवारको रहेको छ । विभिन्न किसिमका हवाई खेलकुद, जलक्रिडा, जंगल सफारी, पर्वतारोहण मार्फत उद्यमशिलताको सिर्जना र विकास गरिने उनीहरुले बताएका छन् ।
कास्की ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा रामजीप्रसाद बराल ‘जीवन’ र प्रदेश १ मा दुर्गादत्त भण्डारी तथा प्रदेश २ मा प्रकाश बराल रहेका छन् ।