काठमाडौं। पूर्वाधार विकास कार्यालय मानभवन, ललितपुरले आठ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेको छ। कार्यालयले कालोसूचिमा राख्न सिफारीस पठाउँनु अगाडी स्पष्टीकरण सोधेको हो।
पूर्वाधार विकास कार्यालयले आज सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलमा लेखी पठाउनु अघि सम्बन्धित निर्माण व्यवसायीहरुसँग स्पष्टीकरण मागेको छ।
सार्वजनिक खरिद नियमावलीको नियम १२० क अनुसार २०७९ असार मसान्तसम्म म्याद भई कार्य सम्पन्न हुन नसकेका योजनाहरुमा २०७९/०४/०८ सम्ममा म्याद थपको निवेदन दिनुपर्ने यदी निवेदन नदिएमा म्याद थप हुन नसक्ने र ६ महिना देखि सम्झौता बमोजिमको कुनै पनि कार्य नगरेको ठेक्का प्टटा अन्त्य गरी त्यस्ता निर्माण व्यवसायीलाई कालोसूचिमा राख्ने व्यवस्था रहेको छ।
कार्यालयले प्रकाशित गरेको सूचनामा रहेका निर्माण व्यवसायीहरुको आवश्यक विवरणहरु प्राप्त नभएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सम्झौता भएका योजनाको अन्त्य गरी कालोसूचिमा राख्न सिफारिस पठाउनु अगाडी सम्बन्धित निर्माण व्यवसायीहरुलाई आफ्नो तर्फबाट कानुनी आधार सहितको सफाई पेश गर्न यो सूचना प्रकाशित गरिएको हो। यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा आफ्नो सफाई पेश गर्न कार्यालयले अनुरोध गरेको छ।
प्रकाशित सूचनामा चुलीडाँडा निर्माण सेवा, कर्णली निर्माण सेवा, परासी निर्माण सेवा, हनुमान निर्माण सेवा, सिम्रिक कन्स्ट्रक्सन, एस.पि.पि. कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., आत्रेय निर्माण सेवा र नताशा निर्माण सेवा रहेका छन्।