काठमाडौं। बजारमा तरलता अभाव, बैङ्कको चर्को ब्याजदरले आर्थिक गतिविधि चलायमान नहुँदा समग्र औद्योगिक क्षेत्र सङ्कटमा पर्न थालेको छ।
सिमेन्ट, फलाम, डन्डी, प्लास्टिक, अटोमोबाइल, साबुन, शृङ्गार, बिस्कुट, सर्फ तथा पेय पदार्थलगायत अन्य उद्योग आर्थिक समस्यामा परी उत्पादनमा कटौती हुन थालेका हुन्। बजारमा खपत कम हुुँदा निर्माण सामग्रीका उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् ।
नेपालले सिमेन्टमा आत्मनिर्भरता हासिल भई निर्यातसमेत गर्न थालिसकेको थियो। अहिले देशका अधिकांश सिमेन्ट उद्योग संकटमा छन्। बजारमा सिमेन्टको खपत कम हुँदा उत्पादन घटेको छ र उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
सिमेन्टको खपत कम हुँदा अहिले एक चौथाइ मात्र उत्पादन हुने गरेको सिमेन्ट उद्योग सङ्घले जनाएको छ। आर्थिक सङ्कट, बैङ्कको चर्को ब्याजका कारण सार्वजनिक क्षेत्रका साथै निजी क्षेत्रका निर्माण कार्य समेत यति बेला ठप्प छन्। जसका कारण सिमेन्ट खपट घटेको छ।
सिमेन्ट उद्योगको उत्पादन क्षमता वार्षिक दुई करोड ५० लाख टन रहेको र एक करोड टन खपत रहेकामा हाल अधिकांश उद्योगले उत्पादन क्षमता घटाएर २५ प्रतिशतमा झारेको संघले जनाएको छ। निर्माण सिजन सुरु भइसक्दा समेत जलविद्युत् आयोजनाको निर्माण कार्य समेत बन्द हुँदा सिमेन्टको माग बढ्न नसकेको हो।
सिमेन्टसँगै फलामे डन्डीको उत्पादनमा समेत कमी आएको छ। बजार माग नभएपछि उत्पादनमा गिरावट आएको हो। अहिले खपत नहुँदा डन्डीको उत्पादन ५० प्रतिशतभन्दा तल झरेको डन्डी उत्पादक उद्योगीहरुको भनाइ छ। बजारमा माग घटेकाले छ, सातवटा डन्डी उद्योग बन्द भइसका छन् भने अधिकांश उद्योगले उत्पादन क्षमता घटाइरहेका छन्।
यति बेला प्लास्टिक उद्योगको उत्पादन पनि घटेको छ। प्लास्टिक उद्योग सङ्घले प्लास्टिक सामग्रीको उत्पादनमा ३० प्रतिशतले कमी आएको जानाएको छ। बैङ्कले एलसी खोल्न शतप्रतिशत रकम राख्नुुपर्ने व्यवस्था गरेकाले प्लास्टिक उद्योगले रकम तिर्न नसक्दा कच्चापदार्थ आयात गर्न नसकेको बताइएको छ।
अहिले कतिपय प्लास्टिक उद्योग बन्द भइसकेका छन् भने केही न्यून क्षमतामा सञ्चालन भइरहेका छन्। प्लास्टिक उद्योग क्षमताको ५० प्रतिशतमा सञ्चालन भइरहेको संघले जनाएको छ। सङ्घका अनुसार समग्र प्लास्टिकजन्य उत्पादनको वार्षिक ५० अर्ब रुपियाँ बराबरको कारोबार हुने गरेकामा अहिले उत्पादन घटेर आधा भएको छ।